
परासी।जनता समाजवादी पार्टी पश्चिम नवलपरासीले कृषि, शिक्षा र स्वास्थ्यलाई मूख्य प्राथमिकता दिन स्थानीय तहसँग माग गरेकोे छ । जसपाले आज जिल्ला समन्वय समितिमार्फत जिल्लाका सातै स्थानीय तहलाई उक्त क्षेत्रमा प्राथमिकताका साथ योजना सञ्चालन गर्न माग गरेको हो।
जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादवले आज जिल्ला समन्वय अधिकारी मानबहादुर खड्कालाई ज्ञापनपत्र बुझाउँदै उक्त मागहरु कार्यान्वयनका लागि स्थानीय तहलाई समन्वय गरिदिन आग्रह गर्नुभयो।
जसपाले शिक्षा र स्वास्थ्यमा नवलपरासी पछि परेको बताउँदै शैक्षिक स्तरोन्नती र गरीब, विपन्न तथा पछाडि परेका समुदायलाई निःशुल्क शिक्षाको सुनिश्चितता गर्न माग गरेको छ।यहाँका नागरिकको आर्थिक अवस्थासमेत कमजोर रहेकोले गुणस्तरीय उच्च शिक्षा, गुणस्तरीय स्वास्थ्य उपचार तथा स्वास्थ्य बीमाका कार्यक्रमलाई विशेष प्राथमिकता दिन स्थानीय तहको ध्यानाकर्षण गराईएको अध्यक्ष यादवले बताउनुभयो।
छात्राहरुलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था, बाढी प्रकोपबाट वर्षेनी कृषकले क्षती व्यहोर्नुपरेकोले निःशुल्क कृषि बीमाको व्यवस्था सहित जिल्लाको समग्र उत्थानमा ध्यान दिन आग्रह गरिएको उहाँले बताउनुभयो।
ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय अधिकारी खड्काले जिससको बोर्ड बैठकमा निर्णय गरि स्थानीय तहलाई पत्राचार गरिने बताउनुभयो।