ट्रेन्डीङ्ग

गजेन्द्र मोक्षधामबाट मुक्तिनाथ रथ यात्राको शुभारम्भ

परासी।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि सुरु भएको ऐतिहासिक रथ यात्राको शुभारम्भ गर्नुभएको छ । कालिगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार गर्ने र धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।

कमलनयनाचार्य मुक्तिनाथ बाबाको संकल्पअनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ । रथ यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकीय गन्तव्यहरूलाई एकआपसमा जोड्न आवश्यक रहेको बताउँदै लुम्बिनी प्रदेशमा पर्यटन सर्किट निर्माण थालिएको जानकारी दिए। साथै, छिमेकी प्रदेश र अन्य क्षेत्रका धार्मिक स्थलहरूलाई परस्पर सम्बन्धित गर्दै पर्यटनको माध्यमबाट समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।

गण्डकीका शालिग्राम र मुक्तिनाथको व्यापक प्रचारप्रसार गर्ने लक्ष्य राखिएको यस रथ यात्राले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । पर्यटकीय दृष्टिकोणले अत्यन्तै सुन्दर र पवित्र भूमि त्रिवेणी धामबाट सुरु भएको यो यात्रा श्रद्धालुहरूका लागि महत्वपूर्ण रहनेछ । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका वन मन्त्री देवकरण कलवार, प्रदेश सभा सदस्य निमा गिरी, राष्ट्रिय याेजना आयाेगका पूर्व उपाध्यक्ष डाक्टर गाेविन्द पाेख्रेल लगायत जनप्रतिनिधि, उद्योगी, व्यवसायी लगायतकाे बिशेष उपस्थिति रहेकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?