ट्रेन्डीङ्ग

भ्रष्ट्राचार नियन्त्रण नहुदा जनतामा निराशा छायो:महामन्त्री थापा

सुनवल।नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा भ्रष्ट्राचार नियन्त्रण नहुदा जनतामा निराशा छाएको बताएका छन्।पश्चिम नवलपरासीको सुनवलमा आयोजित नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले जनतामा छाएको निराशाको चाँडो भन्दा चाँडो सम्बोधन गर्नुपर्ने बताएका हुन।

नेताहरू भ्रष्ट्राचारमा डुबे भन्ने जनमानसमा परेको बताउँदै उनले सबै काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। सरकारका नियामक निकायहरूको अनुसन्धानमा विश्वास नहुने हो भने संसदीय समिति वा अन्य न्यायिक आयोगमार्फत ठूला काण्डहरूको छानबिन गरी नेताहरूमा शुद्धिकरण अभियान सञ्चालन गर्नुपर्ने थापाको भनाइ छ।

“भ्रष्ट्राचार भएको छ तर कारबाही हुँदैन भन्ने जनगुनासो छ,” थापाले भने”निष्पक्ष छानबिन गरेर दोषीलाई कुनै पनि हालतमा कारबाहीको दायरामा ल्याउन सके मात्र नेपाली समाजमा आशा जाग्न सक्छ।”

विकास निर्माणका काम समयमै पूरा नहुदा जनतामा झनै निराशा बढेको उल्लेख गर्दै महामन्त्री थापाले यस्ता आयोजनाहरू समयमा नसकिनुको कारण सरकारले पहिचान गर्नुपर्ने बताए। उनले रोजगारीका अवसर सिर्जना गरेर विशेषगरी युवा पुस्तामा छाएको निराशा हटाउनुपर्नेमा पनि जोड दिए। कांग्रेसले देशमा छाएको निराशा हटाउने वातावरण सिर्जना गर्नुपर्ने उनले बताएका छन्।

सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेलले भ्रष्ट्राचारको आरोप लागेका नेतालाई मञ्चमा राखेर कांग्रेसको शुद्धिकरण हुन नसक्ने बताए। “पार्टीमा अराजकता फैलाउनेलाई दण्ड दिनुपर्छ,” कंडेलले भने, “पार्टीका जिम्मेवार व्यक्तिबाटै भइरहेका अराजक गतिविधि नियन्त्रण नगर्ने हो भने कांग्रेस बलियो बन्दैन।”कांग्रेस केन्द्रीय सदस्य सरस्वती अर्यालले नवलपरासीमा कांग्रेसभित्र देखिएको गुटबन्दीको गन्ध बाहिरसम्म पुगेको बताउँदै पार्टी एकतामा ध्यान दिनुपर्ने धारणा राखिन्।

लुम्बिनी प्रदेश कांग्रेसका महामन्त्री विक्रम खनालले पार्टीलाई एकताबद्ध बनाएर जनतामा छाएको निराशा हटाउनुपर्ने बताए। भ्रष्ट्राचार नियन्त्रण गरी ठूला विकास आयोजना समयमै सम्पन्न गर्नुपर्नेमा खनालले विशेष जोड दिए।

सोही अवसरमा कांग्रेस नेताहरू निमा गिरी, विक्रम यादव, भीम बहादुर थापा, वैजनाथ कलवार, उमेशचन्द्र यादव, कृष्ण नारायण श्रेष्ठ, दीपक भुषाललगायतले आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन कृपा कौशल चौधरीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?