ट्रेन्डीङ्ग

नवलपरासी लुम्बिनी प्रदेशकै पहिलो पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा 

परासी । नवलपरासी जिल्लालाई सोमबार चालु आर्थिक बर्ष २०८२/०८३ को लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सुनवल-१२ भुमहीमा भएको एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।

मन्त्री सारुले लुम्बिनी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित भएकोमा नवलपरासी जिल्लावासीलाई बधाई ज्ञापन गरेका थिए।मन्त्री सारुले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित राख्न खोपको महत्वपूर्ण भूमिका रहने बताउँदै पूर्णखोप सुनिश्चितताका लागि स्वास्थ्यकर्मी, स्थानीय तह, जनप्रतिनिधि तथा अभिभावकको योगदान प्रशंसनीय रहेको उल्लेख गरे। उनले खोप कार्यक्रमलाई दिगो बनाउन सबै पक्षको निरन्तर सहकार्य आवश्यक रहेको समेत बताए।

पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगहरू बढ्दो देखिएको उल्लेख गर्दै प्रदेश सरकारले दिने सहायता मार्फत नसर्ने रोगहरूमा मात्रै ४५ करोड भन्दा बढी खर्च भैसकेको बताए।उच्च रक्तचाप,मृगौला सम्बन्धि रोग,क्यान्सर जस्ता घातक रोग बढ्दो देखिएकाले नसर्ने रोगहरू तर्फ पनि सचेत हुनु पर्नेमा मन्त्री सारुले जोड दिए।

 


जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको अध्यक्षता र स्वास्थ्य मन्त्री सारुको प्रमुख आतिथ्यमा खोप दिगोपना जिल्ला घोषणा कार्यक्रम आयोजना गरिएको हो।यसअघि जिल्लाका सातै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो। 

कार्यक्रममा नवलपरासीमा हाल खोप पाइरहेका १५ महिना मुनिका बालबालिका ५ हजार ७ सय ४ जना रहेको र पूर्ण खोप प्राप्त गरेका १६ महिनादेखि ५९ महिनाका बालबालिकाहरु १८ हजार २ सय ४४ जना रहेको स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए।यस बर्ष खोप लगाउन छुटेका १ सय ५ जना बाल बालिकालाई खोप लगाई सकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सफल भएको स्वास्थ्य प्रमुख शाहिले बताए। 

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाको सहभागिता रहेको थियो।कार्यक्रममा जिल्लामा खोप अभियान सफल बनाउन योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal