
बर्दघाट।बर्दघाट नगरपालिकाका ३४ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। समृद्ध समुदाय विकास केन्द्र नेपाल को आयोजना, बर्दघाट नगरपालिकाको समन्वय तथा Skoleliv i Nepal को आर्थिक सहयोगमा वैशाख १२ र १३ गते तालिम सञ्चालन गरिएको हो।
तालिममा विद्यालय नेतृत्व, शिक्षण–सिकाइ सुधार, कक्षाकोठा अवलोकन, शिक्षकलाई रचनात्मक प्रतिपुष्टि दिने सीप, वार्षिक शिक्षण योजना निर्माण तथा विद्यालय सुधार योजनाका विषयमा छलफल र अभ्यास गरिएको थियो।
सहभागी प्रधानाध्यापकहरूले आफ्नो विद्यालयको अवस्था, चुनौती र सम्भावनाका आधारमा तीन महिनाको सुधार योजना तयार गर्ने अभ्याससमेत गरेका थिए।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सामुदायिक विद्यालयको सिकाइ उपलब्धि सुधार गर्न प्रधानाध्यापकको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले विद्यालय नेतृत्वलाई प्रशासनिक जिम्मेवारीमा मात्र सीमित नराखी शिक्षण–सिकाइ सुधारको नेतृत्वदायी भूमिकामा सक्रिय हुनुपर्ने उल्लेख गरे।
“राजनीतिक नेतृत्वको कार्यकाल सीमित हुन्छ, तर विद्यालय नेतृत्वसँग सिक्ने, अभ्यास गर्ने र लागू गर्ने समय हुन्छ,” नगर प्रमुख श्रेष्ठले भने, “बर्दघाट अब कण्ठस्थ शिक्षाबाट सिकाइ केन्द्रित वातावरणतर्फ अघि बढ्नुपर्छ। यसका लागि विद्यालय नेतृत्व, शिक्षक, अभिभावक र स्थानीय सरकारबीच समन्वय आवश्यक छ।”
बर्दघाट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक भीम काजी गुरुङले विद्यालय सुधारका विषयमा दोषारोपणभन्दा समाधानमुखी सोच आवश्यक रहेको बताए। उनले विद्यालयहरूले आफ्ना वास्तविक आवश्यकता पहिचान गरी प्राथमिकताका आधारमा योजना निर्माण गर्नुपर्ने धारणा राखे।
“सामुदायिक विद्यालय सुधार सबैको साझा जिम्मेवारी हो,” गुरुङले भने, “विद्यालय, अभिभावक, व्यवस्थापन समिति र स्थानीय सरकारबीच सकारात्मक सहकार्य हुन सके मात्र दिगो सुधार सम्भव हुन्छ।” उनले विद्यालयहरूलाई आवश्यकताका आधारमा बजेट तथा कार्यक्रम प्राथमिकता निर्धारण गर्न सुझावसमेत दिए।
कार्यक्रमको अध्यक्षता समृद्ध समुदाय विकास केन्द्र नेपाल का अध्यक्ष ठाकुर घिमिरेले प्रधानाध्यापकहरू विद्यालय परिवर्तनका मुख्य नेतृत्वकर्ता भएको बताए। उनले तालिममा सिकिएका विषयहरू विद्यालय तहमा व्यवहारिक रूपमा कार्यान्वयन हुन सके मात्र कार्यक्रमको उद्देश्य पूरा हुने उल्लेख गरे।
घिमिरेका अनुसार विद्यालयलाई सिकाइमैत्री बनाउन प्रधानाध्यापकले शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिबीच समन्वयकारी भूमिका निर्वाह गर्न आवश्यक छ। उनले नेतृत्व विकास तालिमलाई विद्यालय सुधारको प्रारम्भिक आधारका रूपमा लिनुपर्ने बताए।
तालिमको सहजीकरण नेपाल सरकारका पूर्व सहसचिव गिर्मान थापाले गरेका थिए। सहजीकरणका क्रममा उनले प्रधानाध्यापकको भूमिका विद्यालय प्रशासन सञ्चालनमा मात्र सीमित नभई शिक्षक सहयोग, कक्षाकोठा अवलोकन, सिकाइ उपलब्धि विश्लेषण र विद्यालय सुधार योजनाको कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोडिने बताए।
कार्यक्रममा SCDC Nepal का निर्देशक युवराज चापागाईंले कार्यक्रमको उद्देश्य र आगामी योजनाबारे जानकारी गराएका थिए। उनका अनुसार बर्दघाट नगरपालिकामा विगत दुई वर्षदेखि ८ वटा सामुदायिक विद्यालयमा पाइलट परियोजनाका रूपमा समुदाय परिचालनबाट गुणस्तरीय शिक्षा परियोजना सञ्चालन हुँदै आएको छ। उक्त अभ्यासबाट विद्यालय, अभिभावक, शिक्षक, बाल क्लब र समुदायबीच सहकार्य बढेको उनको भनाइ छ।
चापागाईंले ८ विद्यालयमा गरिएको पाइलट अभ्यासबाट प्राप्त अनुभवलाई आधार बनाएर अब बर्दघाट नगरपालिकाका अन्य सामुदायिक विद्यालयहरूमा पनि कार्यक्रम विस्तार गर्ने योजना रहेको बताए। उनले विद्यालय सुधारलाई केवल तालिममा सीमित नराखी विद्यालय नेतृत्व, अभिभावक सहभागिता, बाल क्लब सुदृढीकरण र कक्षाकोठा अभ्याससँग जोडेर अघि बढाउने तयारी गरिएको जानकारी दिए।
दुईदिने प्रधानाध्यापक नेतृत्व विकास तालिमपछि विद्यालय सुधार प्रक्रियालाई थप संस्थागत बनाउन अन्य सरोकारवालालाई लक्षित कार्यक्रम पनि तय गरिएको आयोजकले जनाएको छ। वैशाख १४ गते ३४ वटै सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक–शिक्षक संघका अध्यक्षहरूका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
उक्त कार्यक्रमले विद्यालय व्यवस्थापन, अभिभावक सहभागिता र सिकाइ सुधारमा स्थानीय संरचनाको भूमिकाबारे स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।
यसैगरी, वैशाख १५ गते ३४ वटै सामुदायिक विद्यालयका बाल क्लब फोकल शिक्षकहरूलाई बाल क्लब गठन, सञ्चालन तथा कार्ययोजना निर्माणसम्बन्धी तालिम प्रदान गरिनेछ। विद्यार्थी नेतृत्व विकास, सक्रिय सहभागिता, बालमैत्री वातावरण र विद्यालयस्तरीय रचनात्मक गतिविधि प्रवर्द्धनका लागि बाल क्लबलाई प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गर्न लागिएको हो।
कार्यक्रम सञ्चालन गणेश पाण्डे शिशमले गरेका थिए। कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विद्यालयमा देखिएका चुनौती, शिक्षक परिचालन, विद्यार्थी सिकाइ अवस्था, अभिभावक सहभागिता र विद्यालय सुधारका सम्भावनाबारे अनुभव आदान–प्रदान गरेका थिए।
आयोजकका अनुसार SCDC Nepal र Skoleliv i Nepal ले बर्दघाट नगरपालिकासँगको सहकार्यमा समावेशी कक्षाकोठा, सहकार्यात्मक शिक्षण पद्धति, अभिभावक सहभागिता, बाल क्लब सुदृढीकरण र विद्यालय नेतृत्व विकासका क्षेत्रमा काम गर्दै आएका छन्। प्रधानाध्यापक तालिम, व्यवस्थापन समिति तथा अभिभावक–शिक्षक संघ अभिमुखीकरण र बाल क्लब फोकल शिक्षक तालिमलाई एकीकृत रूपमा अघि बढाएर सामुदायिक विद्यालय सुधारको दीर्घकालीन आधार तयार गर्ने योजना रहेको जनाइएको छ।











