ट्रेन्डीङ्ग

चिसो बढेपछि रामग्राम नगरपालिकाद्वारा नि:शुल्क दाउरा वितरण

परासी।चिसो बढ्दै गएपछि पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रामग्राम नगरपालिकाले नगरवासीलाई चिसोबाट जोगाउन नि:शुल्क दाउरा वितरण सुरु गरेको छ।

सार्वजनिक स्थानमा धुनी बाल्नका लागि दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले जानकारी दिए। उनका अनुसार चिसोबाट नागरिकलाई राहत दिन नगरपालिकाले तत्काल राहतका कार्यक्रम अघि बढाएको हो।

शुक्रबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले दाउरा वितरण, न्यानो कपडा वितरण लगायतका राहतका काम तत्काल सुरु गर्ने निर्णय गरेको थियो।सोही निर्णयअनुसार शुक्रबारदेखि नै चोक-चोक तथा मुख्य भिडभाड हुने स्थानहरूमा दाउरा वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले खरिद गरेको दाउरा वडा तहसम्म पुर्‍याउने काम भइरहेको छ। चिसोको समयमा गरिब तथा विपन्न बस्तीमा हुन सक्ने समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले १८ वटै वडाका विभिन्न स्थानमा दाउरा तथा आवश्यक सामग्री वितरण गर्ने जनाएको छ। साथै अपाङ्गता भएका व्यक्ति र गरिब विपन्न परिवारलाई न्यानो कपडा पनि वितरण गरिने बताइएको छ।

पछिल्लो केही दिनदेखि यस क्षेत्रमा चिसो अत्यधिक बढेको छ। बाक्लो हुस्सु लागिरहेकाले जनजीवन प्रभावित भएको छ।विशेषगरी जिल्लाका विभिन्न स्थानमा रहेका मुसहर बस्ती चिसोका कारण बढी प्रभावित भएका छन।


केही दिनदेखि घाम राम्रोसँग नलाग्ने र बाक्लो हुस्सुका कारण तापक्रम घट्दै गएको छ।चिसो बढेसँगै मानिसहरूको चहलपहल कम हुँदै गएको छ भने अस्पतालहरूमा चिसोका कारण श्वासप्रश्वाससम्बन्धी बिरामीको चाप समेत बढ्दै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?