
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ मा रहेको बडेरा खानेपानी उपभोक्ता समितिको १२औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न भएको छ।खानेपानीको अधिवेशनबाट पुन:गंगाराम गैरेको नेतृत्व ११ सदस्य कार्यसमिति निर्वाचित भएका छ्न।
जसको उपाध्यक्षमा सचिवमा श्यामप्रसाद पोखरेल, कोषाध्यक्षमा रमाकान्त अर्याल, सहसचिवमा अर्जुन सिर्पाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका सांयोजक मदन पन्तले जानकारी दिए।
त्यसैगरी सदस्यहरूमा सुवाकर न्यौपाने, कुश्माखर सापकोटा, देवी भट्टराई, विक्रम शाही, हिमराज गौडेल र राधिका घिमिरे चयन भएका छन।
त्यसै लेखा समिति संयोजकमा शोभाखर पाण्डेय तथा सदस्यहरूमा कृषप्रसाद ढकाल र तिलप्रसाद भण्डारी निर्वाचित भएको निर्वाचन संयोजक पन्तले बताए।
समितिका अध्यक्ष गंगाराम गैरेको अध्यक्षतामा तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परासीका प्रमुख दिनेश शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि शाहले सुरक्षित र स्वच्छ खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै उपभोक्ता समिति, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय गरेर दीगो खानेपानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।उनले सरकारी निकायले प्राविधिक सहयोग निरन्तर गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
त्यसैगरि वरिष्ठ अतिथि सुनवल नगरपालिकाका पूर्व नगरप्रमुख भिमबहादुर थापा ‘भरत’ले खानेपानी जस्तो संवेदनशील सेवामा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण रहेको बताउँदै पारदर्शिता, उत्तरदायित्व र उपभोक्ता सहभागिताबाट मात्रै संस्था बलियो बन्ने धारणा राखे।
साथै सुनवल नगरपालिकाका प्रवक्ता तथा वडा नं. १३ का अध्यक्ष कृष्णप्रसाद बगालेले नगरपालिकाले खानेपानी क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै बडेरा खानेपानी संस्थाको सेवा विस्तार र संरचना सुधारमा आवश्यक सहकार्य गर्ने बताए।
कार्यक्रममा खानेपानी तथा उपभोक्ता नगर सञ्जालका अध्यक्ष संजय श्रेष्ठ, सुनवल खानेपानीका अध्यक्ष विष्णु न्यौपाने, बडेरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मदन पन्त, खानेपानीका सल्लाहकार हरि भण्डारी र उपभोक्ता प्रतिनिधि परमानन्द गौतमले उपभोक्ता अधिकार संरक्षण, सेवा गुणस्तर सुधार, आपसी सहकार्य तथा नियमित मर्मतसम्भारमा जोड दिएका थिए।
अधिवेशनमा अध्यक्ष गंगाराम गैरेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार उपभोक्तालाई राहत दिने उद्देश्यले पानी महशुलमा २५ प्रतिशत छुट दिइएको, साउन र भदौ महिनामा २० हजार लिटर पानीको लाग्ने शुल्क छुट गरिएको तथा ओभरहेड ट्यांकीको अपुरो निर्माण कार्य सम्पन्न गरिएको जानकारी गराइएको थियो।
कार्यक्रममा सचिव श्याम पोखरेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमाकान्त अर्यालले २ करोड ५७ लाख रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। लेखा समिति संयोजक शोभाखर पाण्डेयले लेखा प्रतिवेदन प्रस्तुत गर्दै पारदर्शी आर्थिक व्यवस्थापनमा जोड दिए।
साधारणसभाले सबै प्रतिवेदन पारित गर्दै आगामी दिनमा खानेपानी सेवाको विस्तार, गुणस्तर सुधार र दीगो व्यवस्थापनलाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरेको समितिले जनाएको छ।











