
परासी।पश्चिम नवलपरासीको सुनवल-१३ बडेरा सुन्दरबस्तीमा तेस्रो लोक सांस्कृतिक,धार्मिक पर्यटन तथा व्यापार महोत्सव सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान पश्चिम नवलपरासीद्वारा निर्माणाधीन लोक सांस्कृतिक संग्रहालय सहयोगार्थ महोत्सव आयोजना गरिएको हो।
महोत्सवको उद्घाटन गर्दै पूर्वमन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतले आधुनिकताको नाममा पश्चिमी संस्कृतिको अनुशरण भइरहेको उल्लेख गर्दै आफ्नै संस्कृति जोगाउन सबैको जिम्मेवारी हुने बताए।उनले परम्परागत संस्कृति र मूल्यहरूको संरक्षणमा स्थानीयले अग्रसर हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा सुनवल नगरप्रवक्ता तथा वडा नं. १३ का अध्यक्ष कृष्णप्रसाद बगाले, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश कोषाध्यक्ष धन बहादुर गुरुङ, प्रतिष्ठान नवलपरासीकि पूर्वअध्यक्ष देवी घिमिरे,नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष केशव पराजुलीलगायतले महोत्सवले स्थानीय कला, भेषभूषा र संस्कृतिको प्रचार-प्रसारमा टेवा पुग्ने धारणा राखे।
एघार दिनसम्म चल्ने महोत्सवमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष श्यामकला भण्डारी बताइन्। मेला अवधिभर करिब ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष भण्डारी बताइन।
महोत्सव स्थलमा प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ, विद्यार्थीका लागि ५० रुपैयाँ, र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको मेला व्यवस्थापन संयोजक राजकुमार श्रेष्ठले बताए।
महोत्सव स्थलमा विभिन्न जातजातिका संस्कृतिलाई झल्काउने घरहरू, स्थानीय कला, कृषि, व्यापार र उद्योगसँग सम्बन्धित सामग्रीका स्टलहरू निर्माण गरिएको छ।
कार्यक्रममा १ लाख रुपैयाँ राशिको खुला लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता र अन्य सांस्कृतिक प्रतिस्पर्धासँगै राष्ट्रिय तथा स्थानीय ५ दर्जनभन्दा बढी कलाकारहरूको प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक भरत कामुले बताए।