
भुमही।भुमहीमा सम्पन्न प्रथम स्व. बिमल-बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि जनशक्ति युवा क्लबले हात पारेको छ।
बिहीबार सम्पन्न फाइनल खेलमा जनशक्ति युवा क्लबले भुमही रिकन्डिसनलाई १-० ले पराजित गर्दै उपाधि उचालेको हो। प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा बडेराका विवेक थारुले निर्णायक गोल गर्दै जनशक्तिलाई विजयी बनाए।सेमिफाइनलमा जनशक्तिले उदय युवा क्लबलाई र भुमही रिकन्डिसनले आयोजक राइजिङ स्टारलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।
१६ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता जनशक्ति युवा क्लबले नगद रु. ५० हजार ५१ सहित ट्रफी प्राप्त गर्यो भने उपविजेता भुमही रिकन्डिसनले नगद रु. २५ हजार ५१ सहित ट्रफीमा चित्त बुझायो।
व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी उदय युवा क्लबका मनिश थारु, सर्वाधिक गोलकर्ता भुमही रिकन्डिसनका सुरज थारु, उत्कृष्ट गोलरक्षक अन्नपूर्ण विद्यालयका विक्रम सुनार, राइजिङ स्टारका होम बहादुर थापा राइजिङ खेलाडी, तथा अनुशासन खेलाडीमा राजेश सुनार र अमर बिक घोषित भए।
समापन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य खडग बस्नेतले खेल क्षेत्रको विकासमा थप अग्रसर हुनुपर्नेमा जोड दिए। पूर्वमन्त्री बस्नेतले जेनजी आन्दोलनको मार्गदर्शनलाई सही ढंगले अघि बढाउनुपर्नेमा जोड दिँदै,आन्दोलनलाई भड्काउने प्रयास गर्ने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको वताए।
राइजिङ स्टार सामुदायिक प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा समापन समारोह कार्यक्रममा सुनवल नगर उपप्रमुख सूर्य दुबे, नगर प्रवक्ता कृष्णप्रसाद बगाले, वडा नं. १२ का अध्यक्ष चुरामणि पौडेल, वडा नं. ११ का अध्यक्ष कमल चुवाई, सुनवल–३ का अध्यक्ष पविन गुरुङ, रामग्राम–११ का अध्यक्ष धनीराम यादव, सुनवल–१२ का पूर्ववडा अध्यक्ष यामलाल पाण्डे, कार्यपालिका सदस्य भगवती बस्याल,युवराज भुसाल,लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन टपन केवटले गरेका थिए।