
परासी।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा २ सय ५० विद्यार्थीलाई मेयर छात्रवृत्ति वितरण गरिएको छ।रामग्राम नगर भित्रका रहेका २२ निजी विद्यालयमा नि:शुल्क अध्ययन गर्नेगरि २ सय ५० विद्यार्थीलाई छात्रवृत्ति गरिएको हो।
निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र नगरपालिकाबीच मेयर छात्रवृत्ति कार्यक्रममा सम्झौता गरि विभिन्न मापदण्ड बनाई परिक्षामा सहभागी भई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको नगरप्रमुख धनपत यादवले बताए।नगरप्रमुख यादवका अनुसार नगरभित्र रहेका गरिब विपन्न,जेहेन्दार, सीमान्तकृत समुदाय, सहिद परिवारका बालबालिकाले कक्षा ४ देखि ११ सम्म पुर्ण रुपमा नि:शुल्क पढ्न पाउनेछन।
नगरले सुरु गरेको शैक्षिक सुधारको अभियानमा संस्थागत विद्यालयको उत्तरदायित्व अन्तरगत स्थानीय सरकारलाई सहयोग गरेको प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले बताउनुभयो।रामग्राम नगरपालिकाले विद्यार्थी छनौटको मापदण्ड बनाएर मापदण्ड अनुसार छनौट भएका बालबालिकालाई विभिन्न संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागी पठाउने छ।
एउटा संस्थागत विद्यालयमा बढिमा १६ जना सम्म विद्यार्र्थी नि:शुल्क अध्यापन गराउनु पर्ने गरी मापदण्ड तय गरिएकोमा छात्रवृत्तिका लागि ७ सय ५० विधार्थी आवेदन दिए पनि मापदण्ड नपुगेकाले परिक्षामा भने ५ सय ५० मात्र सहभागी भएका थिए भने २ सय ५० उत्कृष्ट विधार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गरिएको शिक्षा शाखा अधिकृत सुन्दर खनालले जानकारी दिए।नगरपालिकामा २२ वटा निजि विद्यालय रहेकोमा साढे दुई सय विद्यार्थीका लागी संस्थागत विद्यालयको झन्डै वार्षीक एक करोड खर्च हुने बताईएको छ।