
सुनवल।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ स्थित शहीद स्मृति सामुदायिक अस्पतालमा मिर्गौला पीडितका लागि डायलसिस सेवा सञ्चालनको तयारीस्वरूप स्थानीय तहको पहलमा सहयोग संकलन अभियान सुरु गरिएको छ।
अस्पतालमा डायलसिस मेसिन उपलब्ध भए पनि सञ्चालनका लागि आवश्यक आर्थिक स्रोतको अभाव भएपछि ‘मिर्गौला पीडित स्वास्थ्य उपचार सेवा सञ्चालन कार्यदल’ गठन गरी सहयोग संकलन सुरु गरिएको हो। कार्यदलको संयोजक नगर प्रमुख शम्भुलाल श्रेष्ठ रहेका छन।
नगर प्रमुख श्रेष्ठका अनुसार नगर क्षेत्रभित्र हाल ५२ जना मिर्गौला पीडित छन् भने जिल्लाभर करिब २५० जना बिरामी नियमित डायलसिस सेवा लिन बाध्य छन्। सेवा उपलब्ध नभएकाले धेरैजसो बिरामीहरू बुटवल, चितवन वा काठमाडौं जान बाध्य हुने गरेकोमा अब स्थानीय स्तरमै सेवा लिन सक्ने वातावरण बनाउने लक्ष्य लिएको श्रेष्ठले बताए।
“नगरबासीको स्वास्थ्यमा सर्वसुलभ पहुँच पुगोस् भन्ने हेतुले महाअभियानको रूपमा अभियान सुरु गरेका हौं,” श्रेष्ठले भने, “डायलसिस सेवाका लागि ‘एक घर, एक हजार’ नारासहित नगरवासी, उद्योगी, व्यवसायी, संघसंस्थालाई सहयोग गर्न अनुरोध गरेका छौं।”
अस्पतालमा ६ वटा डायलसिस मेसिनमध्ये हाल ४ वटा सञ्चालन योग्य अवस्थामा रहेको अस्पतालका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिए। बाटोको समस्या कारण दुईवटा मेसिन बिग्रेर फिर्ता गरिएको पुन: आउने अस्पतालले जनाएको छ।
सेवा सञ्चालन गर्नका लागि मासिक २ देखि ३ लाख र वार्षिक झण्डै ३५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। जनशक्ति तयार भइसकेको भए पनि तलबभत्ता लगायतका नियमित खर्च स्थानीय तहबाट व्यहोर्न कानुनी कठिनाइ रहेकाले आम समुदायबाटै सहयोग संकलन थालिएको बताइएको छ।पहिलो चरणको असार मसान्तसम्म आर्थिक संकलन गरेर सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ अस्पताल विकास केन्द्रका सदस्य युवराज डुम्रेले बताए।
डायलसिस सेवा सञ्चालन भएसँगै मिर्गौला पीडितहरूलाई आर्थिक, भौतिक र मानसिक रूपमा ठूलो राहत मिल्ने विश्वास गरिएको छ।