
परासी।पश्चिम नवलपरासीको रामग्राम ७ उजैनीमा रहेको भगवान गौतमबुद्धको एक मात्र सिङ्गो अष्टधातुको प्रर्वद्धन स्वरुप अमेरिकामा नेपालीहरू बिच फुटबल प्रतियोगिता सम्पन्न भएको छ।वुद्धस्थलको प्रर्वद्धन कार्यक्रम अर्न्तगत अमेरिका भ्रमणमा रहेका रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवको सक्रियतामा मेरिल्यान्ड राज्यको वालड्रपमा बस्दै आएका नेपालीहरू बिच फुटबल प्रतियोगिता भएको हो।
एसओएमडी एभरेष्ट युनाइटेड फुटबल क्लब दुई समुह (रातो र निलो) बिच भएको प्रतिस्पर्धामा रातो समुह बिजयी भएको हो।निकै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुईदुई गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरमा रातो समुह बिजयी भएको हो।
नगर प्रमुख यादवले खेलाडीहरूलाई रामग्राम नगरपालिकाको लोगो, रामग्राम स्तूप बुद्धको अस्तुधातु रहेको स्थल लेखिएको स्तुपको चित्राङ्कित जर्सी प्रदान गरेका थिए। सो क्रममा उनले रामग्राम स्तूप बुद्धस्थल मध्येको निकै महत्वपूर्ण स्थान भएरपनि ओझेलमा परेको बताउदै विदेशमा रहेका नेपालीहरूले समेत रामग्राम स्तूप सहितका बुद्धस्थलको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए।
नगर प्रमुख यादवले रामग्राम नगरपालिकाले रामग्राम स्तूप, पण्डितपुर लगायतका स्थलको विकासमा विशेष जोड दिएर पहल गरिरहेको बताउदै एक पटक रामग्राम स्तुपको भ्रमण गर्न अमेरिकावासी नेपालीहरूमा आग्रह गरेका थिए। सो क्रममा उक्त क्लबका खेलाडी सरावलको मनरी घर भएका विनोद चौधरीले अमेरिकामा आएर पनि आफ्नो माटोको माया गर्दे नगर प्रमुखले देखाएको सक्रियता प्रशंसनीय रहेको बताए।नेपालगञ्ज घर भएर अमेरिकामा बस्दै आएका प्रविण श्रेष्ठले नेपाली माटोको प्रतिनिधित्व गर्दे फुटबल खेल्न पाउदा गर्व महसुस भएको बताउदै नेपाल आएको समयमा रामग्राम स्तूपमा घुम्न आउने प्रतिवद्धता जनाए।