सुनवल।उच्च अदालत तुल्सीपुर बुटवल इजलासले सुनवल नगरपालिकाद्वारा महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको म्याद थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश राजेश्वर तिवारी र जगत बहादुर थापाको संयुक्त इजलासले उक्त विद्यालय व्यवस्थापन समितिको कार्यकाल थप्ने नगरपालिकाको निर्णय हाललाई कार्यान्वयन नगर्न आदेश दिएको हो।
महाकवि देवकोटा मावि व्यवस्थापन समितिको कार्यकाल माघ २६ गते समाप्त हुने भए पनि सुनवल नगरपालिकाले पुष ९ गते तीन महिना म्याद थप गर्ने नगर शिक्षा समितिको निर्णय सहित विद्यालयलाई पत्रचार गरेको थियो । अदालतले नगरपालिकासँग उक्त निर्णयको कारणसहित लिखित जवाफ माग गरेको छ ।
प्रचलित कानुन अनुसार विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिनु एक महिना अगावै पद हस्तान्तरण गर्नुपर्ने प्रावधान छ । सुनवल नगरपालिकाको निर्णय संविधान, शिक्षा ऐन तथा नियमावली विपरीत रहेको दाबी गर्दै विद्यालयका अभिभावक तुलसा थापाले अदालतमा रिट निवेदन दायर गरेका थिए ।