
गुल्मी ।गुल्मीमा पहिरोले पुरिएर मृत्यु भएकाहरूको सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ बिसौनामा मंगलबार बिहान पहिरोमा परि मृत्यु भएका चार जनाको आज (बुधबार) स्थानीय बढीगाढ खोलामा सामुहिक दाहसंस्कर गरिएको हो।
मंगलबार बिहान नौ बजेको समयमा बिसौनाका बिष्णु बिकको घर पहिरोले पुरिँदा उनकी ६६ वर्षीया आमा मसुरी बिक, अढाई वर्षीया र छोरी रियन्सी बिक सहित ६७ वर्षीय हुकुम बिक र उनका ४६ वर्षीय छोरा गोरे बिकको मृत्यु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सदरमुकाम तम्घासबाट डाक्डर पठाएर घटना स्लथलमै पोष्टमार्टम गर्ने व्यवस्था मिलाएको थियो । पोष्टमार्टमपछि शवलाई आफन्तको जिम्मा लगाईएको थियो । उक्त शवलाई बुधबार बिहान हिन्दु परम्परा अनुसार दाहसस्कार गरिएको हो ।
दाहसस्कारको क्रममा जिल्ला समन्वय समिति गुल्मीका उप प्रमुख तेजेन्द्र सलामी, मुसिकोट नगरपालिका उप प्रमुख गंगा श्रेष्ठ, सुरक्षा निकाय एवं स्थानीयवासीको सहभागिता रहेको थियो । उक्त घटनामा परि बिष्णु बिक र उनकी श्रीमती मुना बिक गम्भीर घाईते भएका थिए ।
घाईतेहरूको अहिले मेडिकल कलेज प्रवास पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि गत आसार १४ गते गुल्मीको मालिका गाउँपालिका -६ अन्तरगत अर्जेमा पनि पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको थियो ।