पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा आज भएको जिप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार जिपमा २० जना सवार भएको अनुमान गरिएको बताए । अहिले उद्वारकार्य जारी भैइरहेको र अझै केहीको मृत्यु हुनसक्ने आशंका गरिएको छ श्रेष्ठले भने ।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए ।
घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान भने खुल्न सकेको छैन ।