
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ । आजदेखि काठमाण्डौमा शुरु भएको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटनमा बोल्दै उहाँले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
सुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको ज्यान गएको थियो ।
यस्तै, उहाँले यो घटनामा कमजोरी देखाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको बताउनु भएको छ । यो घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको रिपोर्ट नआएसम्मका लागि निलम्बन गरिएको उहाँले बताउनु भयो ।
उहाँले ईपीएस परीक्षामा सहभागी हुन नपाएका विद्यार्थीहरुले पनि यो परीक्षामा सहभागी हुन पाउने कुरा अदालतले जानकारी दिएपछि परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले यो घटनामा अदालतको पनि केही कमजोरी देखिएको बताउनु भयो ।