ट्रेन्डीङ्ग

जाजरकोट केन्द्रबिन्दु भएर फेरि गयो भूकम्प

जाजरकोट।जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज बिहान १:२२ बजे ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो। शुक्रबार राति ११:४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६।४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन्।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२:०८ बजे ४.५ म्याग्नेच्युडको, १२:२९ बजे ४.२ म्याग्नेच्युडको, १२:३५ बजे ४.३ म्याग्नेच्युडको, शनिबार बिहान ४:१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३:४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १:२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो ।

शुक्रबार गएको भूकम्प र त्यसपछिका पराकम्पबारे अध्ययन तथा अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारी सहितको टोली जाजरकोट पुगेको छ । टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने छ ।

शुक्रबारको भूकम्पले जाजरकोट र रूकुप पश्चिममा जनधनको क्षति पुर्‍याएको छ । शनिबार रातिसम्मको विवरण अनुसार भूकम्पमा परी जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पले २०० भन्दा बढी घाइते र हजारौं घरहरूमा क्षति पुगेको छ। शनिबार भूकम्पमा परेकाहरूको उद्धार सकिएको थियो। आजबाट भौतिक क्षतिको विवरण संकलन गरिने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal