
काठमाडौँ । काठमाडौँको गोठाटारमा प्रहरीले गोली चलाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।
भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । मोहम्मद करिमको साथबाट प्रहरीले एकथान पेस्तोल बरामद गरेको छ ।
प्रहरीले चलाएको एक राउण्ड गोली करिमको खुट्टामा लागेको छ । खुट्टामा गोली लागेका करिमलाई तीनकुनेको कान्तिपुर अस्पतालमा उपचारका लगिएको प्रहरीलेएसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
यसका साथै घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका ८ घर भएका ३७ वर्षीय हर्क लिम्बूलाई पनि पक्राउ गरेको छ । उनको साथबाट लागुऔषध जोख्ने तराजुसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले घटनास्थलबाट ३ राउन्ड गोलीसहित १ नाल पिस्तोल र २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।