काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नै विश्वासको मत लिने भएका छन ।
प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने योजना अन्योलमा परेको थियो । तर कोशी प्रदेशको सत्ता गठबन्धन बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिए ।
आजको बैठक कोशी प्रदेश सभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले सञ्चालन गर्नुहुने छ।
उपसभामुख दनुवार र अध्यक्ष मण्डलका सदस्यहरु एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित हुने भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेश सभा बैठक बस्ने भएको हो ।
उपसभामुख दनुवार पनि मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर बिदामा बस्नुभएको छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्रीले आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेश सभा सदस्यको समर्थन जुटाउनुपर्छ । तर सत्ता गठबन्धनसँग ४७ मत मात्रै छ । कांग्रेसकै सांसदले बैठक संचालन गर्दा उसँग ४६ मत मात्रै हुन्छ ।
प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेश सभामा कुनै प्रस्ताव माथि मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने मत पनि छ । तर सत्तारुढ गठबन्धनले भने मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।