ट्रेन्डीङ्ग

गर्मी बढे सगैं पश्चिम नवलपरासीका अस्पतालमा बिरामीको चाप

परासी।अत्याधिक गर्मी बढेसँगै पश्चिम नवलपरासीका अस्पताल र स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ।

 

जिल्लाको पृथ्वीचन्द्र जिल्ला अस्पताल,चिसापानी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको हो।पृथ्वीचन्द्र अस्पतालमा मात्र दैनिक २ सयदेखि २२० जना बिरामीहरु उपचारका लागि आउने गरेका छन।

 

५० शैया रहेको अस्पतालमा अहिले जेष्ठ नागरिक र बालबालिकाहरु बढी बिरामी भएर उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मोहम्मद नुरुल होदाले जानकारी दिए।




अघिल्लो वर्ष जेठ महिनामा दैनिक १२० जना बिरामीहरु आउने गरेका थिए।यो वर्षको जेठ महिनामा भने एकै दिन २७६ जना बिरामीहरु उपचारका लागि आएको डा. होदाले बताए।



अधिकांश बिरामीहरुमा पानीको मात्र कम देखिएको छ।जसले गर्दा पिसाबको इन्फेक्सनका बिरामी बढी रहेका छन् । त्यस्तै लु लागे जस्तो कमजोर महसुस गरी उपचारमा आउने बिरामी पनि उत्तिकै रहेको डा. होदाले बताए।



पानीको मात्रा कम हुँदा मलेरिया जस्तो उच्च ज्वरोका लक्षण,कोखा चस्कने,घाउँ खटिरा र अन्य छाला सम्बन्धीका बिरामीहरु आउने गरेको अस्पतालले जनाएको छ।



गर्मी बढेकाले जुस लगायत झोलिलो पदार्थ बढी पिउने, फलफुल खाने,पानी प्रशस्त पिउने र बाहिर निस्कदा शरिर ढाक्ने कपडा लगाउनु पर्ने डा.होदाको सुझाव छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?