परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले ३८ जना सदस्यको मात्र महासंघको सदस्य नवीकरणका लागि प्रदेशमा सिफारिस गरेको छ।कुल ८६ जना सदस्य रहेको महासंघमा ४८ जना सदस्य नवीकरण मापदण्डमा परेका छैनन।
पत्रकार महासंघ केन्द्रीय समितिले सदस्यता शुद्धीकरणका लागि देशभर अभियान चलाएको छ।
सोही अभियान अनुसार महासंघको जिल्ला शाखाले शुद्धीकरण समिति गठन गरी सबै सदस्यको पत्रकारिता क्षेत्रमा लागेको व्यक्तिगत विवरण संकलन गरेको थियो।
महासंघ जिल्ला शाखाका अध्यक्ष हरि शर्माको अध्यक्षतामा मंगलबार परासीमा बसेको बैठकले उक्त सिफारिस गरिएको शाखा सचिव राजकुमार रेश्मीले जानकारी दिए।
केन्द्रीय समितिको सदस्यता शुद्धीकरण मापदण्ड र निर्देशिका तथा समितिको प्रतिवेदनका आधारमा नवीकरणका लागि सिफारिस गरिएको रेश्मीले जानकारी दिए।
नवीकरण हुन नसकेका सदस्यहरुमध्ये सदस्यता त्यागको स्वघोषणा गर्ने १८ जना,सरकारीसहित अन्य शिक्षण पेशामा आवद्ध ५,बैंक/वित्तिय/सहकारी/फाइनाइन्स/गैरसरकारी संस्था/व्यवस्थापक र अन्य संघसंस्थामा कार्यरत ११,विदेशमा रहेका ३, नवीकरणका लागि फारम नबुझाएका र क्रियाशिल नरहेका ११ जना गरी कुल ४८ जना रहेको महासंघले जनाएको छ।