सुस्ता।पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको अध्यक्षमा आशिश गुप्ता र उपाध्यक्षमा किरण ठाकुर निर्वाचीत भएका छन् । तर उनीहरु सुस्ता गाउँपालिकाले सञ्चालन गरेको सुस्ता नमुना युवा गाउँसभाका लागी नमुना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचीत भएका हुन्।
सुस्ता गाउँपालिकाको सहयोग र न्यायिक सरोकार संस्थाको सहजीकरणमा सञ्चालन भएको तीनदिने सुस्ता नमुना युवा गाउँसभामा पालिका भित्रबाट सहभागी रहेका ४२ जना युवाहरुलाई गाउँसभा सञ्चालनको प्र्रक्रिया बारे प्रशिक्षण तथा अभ्यास गराईएको छ । सोही प्रयोजनका लागी नमुना अध्यक्ष र नमुना उपाध्यक्ष समेत निर्वाचीत गरिएको हो ।
नमुना गाउँसभा सञ्चालनका लागी सहभागी प्रशिक्षार्थीहरुलाई संघ, प्रदेश र स्थानीय सरकारको संरचना र यसको बनौट प्रक्रियाबारे प्रशिक्षित गर्दै स्थानीय तहको निर्वाचन प्रक्रिया र गाउँसभा सञ्चालनको प्रक्रियालाई प्राथमिकता दिई नमुना गाउँसभाको प्रशिक्षण तथा अभ्यास कार्यक्रम गरिएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायले जानकारी दिनुभयो । स्थानीय सरकार र स्थानीय तहका जनप्रतिनिधि सबभन्दा नजीकको सेवा प्रदान गर्ने सरकारी संयन्त्र भएकाले यसप्रति युवाहरुको सहभागीता र सचेतना वृद्धी गर्न नमुना गाउँसभा सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
सुस्ता गाउँपालिकाका उपाध्यक्ष गिता चौधरीले यस कार्यक्रम मार्फत स्थानीय तहका सेवा र प्रक्रियाबारे समेत युवाहरुलाई जानकारी हुने भएकाले यसले गाउँपालिका प्रतिको अपन्तवमा वृद्धी भई सेवा प्रवाह र शुसासनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल र योजना शाखा प्रमुख विष्णु ढकालले यो नविन्तम प्रशिक्षण र अभ्यासले युवाहरुलाई स्थानीय तहमा योजना निर्माण, कानुन निर्माण र सेवा प्रवाहका प्रक्रियाबारे समेत जानकारी हुने धारणा राख्नुभयो ।
सुस्ता नमुना युवा गाउँसभाको प्रशिक्षण र अभ्यासको अवधीमा नेपालमा संघीयताको अवधारणा र अभ्यास, संघीय संसद बनौट र यसको निर्वाचन, प्रदेशको संरचना र निर्वाचन, स्थानीय तहको निर्वाचन, कार्यपालिका निर्वाचन, गाउँसभा सञ्चालनका कार्यविधि लगायतका बारेमा प्रशिक्षण दिईएको थियो । सहभागी प्रशिक्षार्थीहरुलाई सहमतीय निर्वाचन प्रक्रिया र मतदान निर्वाचन प्र्क्रियाबारे जानकारी गराउन वडा तहसम्मका जनप्रतिनिधि र कार्यपालिका सदस्यको निर्वाचन सहमतीय निर्वाचन प्रक्रियाद्धारा निर्वाचीत गरिएको थियो भने गाउँपालिकाको नमुना अध्यक्ष र नमुना उपाध्यक्षका लागी मतदानबाट निर्वाचीत गरिएको थियो ।
गाउँसभा अधिवेशनको अभ्यास कार्यक्रममा नमुना अध्यक्षले संसदीय प्रक्रिया अनुसार सभा सञ्चालन गर्दै नमुना नीति तथा कार्यक्रम, नमुना उपाध्यक्षले बजेट वकतब्य, विधायन समितिका संयोजक दिपक तिवारीले बाल अधिकार संरक्षण तथा बालविवाह नियन्त्रण सम्बन्धी स्थानीय नमुना विधेयक प्रस्तुत गर्नु भएको थियो । ति दस्ताबेजहरु माथी संसदीय प्रक्रिया अनुसार सभामा प्रस्तुत, दफावार छलफल, निर्णयार्थ प्रस्तुत र मतविभाजन समेत गरी पारित गरिएको थियो । सुस्ता गाउँपालिकाले सञ्चालन गरेको स्थानीयतहको नमुना संसद हो । युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले यस प्रकारको नमुनायुवा संसद अभ्यास गर्ने गरिन्छ ।
युवा संसद्को अभ्यास सबैभन्दा पहिले सन् १९६३ मा अष्ट्रेलियामा सञ्चालन गरिएको थियो । नेपालमा नमुना युवा संसद्को अभ्यास गैर–सरकारी संथाहरुले सन् २००४ बाट सुरू गरेको पाइन्छ । विभिन्न समयमा बालअधिकार लगाएतका विभिन्न मुद्दालाई उठाएर संघ तथा प्रदेश तहको नमुना युवा संसद्को अभ्यास हुने गरेका छन् । सरकारी स्तरबाट नेपालमा राष्ट्रिय युवा परिषदले वि.स.२०७५ सालबाट नमुना युवा संसद अभ्यासको कार्यक्रम सुरुवात गरी प्रत्येक बर्ष यो अभ्यास स्थानिय, प्रदेश र संघिय तिनै तहमा सञ्चालन गर्दै आएको छ भने यसका प्रभावकारितालाई महत्वदिदै स्थानीय तहले पनि आफै यो प्रशिक्षण तथा अभ्यास कार्यक्रम गर्ने गरेका छन् ।