
रुपन्देही।लुम्बिनी प्रदेश सरकारले आजबाट स्थायी राजधानी दाङको देउखुरीबाट प्रदेश सभा सचिवालयको सबै कामकाज सुरु गर्ने भएको छ।बुटवलबाट हुँदै आएको प्रदेशसभा सचिवालयको काम अब बुटवलबाट करिब एक सय किलोमिटर पश्चिममा पर्ने स्थायी राजधानी देउखुरीबाट सञ्चालन गर्न लागिएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले आजदेखि सचिवालयको सबै काम देउखुरीबाट हुने जानकारी दिए । जसका लागि प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा पुगिसकेका छन।
लुम्बिनी प्रदेशसभाको बैठक पनि स्थायी राजधानी दाङमा बस्दै छ । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवनभित्रै पाँच करोड २० लाख लागतमा तयार गरिएको संसद भवन र सचिवालय भवन पनि सञ्चालनको अन्तिम तयारी अवस्थामा छन् । स्थायी राजधानी दाङबाटै प्रदेश सांसद, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वागत एवं शपथ खुवाउने तयारी प्रदेश सरकारको छ।