
वालिङ।वालिङ नगरपालिका वडा नं. ४ मा रहेको सुन्तलावारी होमस्टेलाई ईको होमिस्टे र ईको पर्यटनमा परिणत गरिने भएको छ।
सुन्तलै सुन्तलाको गाँउको रुपमा परिचित रहेको वालिङ नगरपालिका वडा नं ४ खाल्टेलाई व्यवस्थित गर्न भान्सा व्यवस्थापन अर्थात खाना पकाउने तालिम सञ्चालन गरिएको हो।
वालिङ नगरपालिका,संयुक्त राष्टसंघीय विकास कार्यक्रम युएनडिपी र दियालो संस्थाको सहकार्यमा वालिङमा सञ्चालन भईरहेको हरित पुनःउत्थान कोभिड १९ र उद्धार प्रतिकार्य पहल परियोजना अन्तर्गत ईको होमिस्टे सञ्चालनका लागि भान्सा व्यवस्थापन तालिम सञ्चालन गरिएको हो।
ईको होमिस्टेका लागि आवश्यक पर्ने पूर्वाधारहरु,वातावरणीय तयारी लगायतका कामहरु समेत भईरहेका छन।
स्थानीय उत्पादनबाट बनेका परिकाहरुलाईनै होमिस्टेमा आउने पाहुनाहरुलाई खुवाउने मुख्य लक्ष्यका साथ ईको होमिस्टेमा काम भईरहेको होमिस्टेका अध्यक्ष क्या.दिलविक्रम गुरुङले जानकारी दिनुभयो।
सुन्तलै सुन्तलाको गाँउको रुपमा रहेको सुन्तलावारी होमिस्टेलाई नयाँ रुप दिईने भएपछि पर्यटकको आकर्षण बढ्ने स्थानीयको बुझाई रहेको छ।
स्थानीय स्तरमानै उत्पादन हुने बस्तुहरु खुवाएर पर्यटकलाई फरक स्वाद दिने होमस्टेको तयारी छ ।
तालिममा कोदोको रोटी,आलुको चिप्स,सुन्तलाको जाम थिचेको आलु,लछा पराठा,रोटीको चिप्स, घरमा नै भुटेको आलु,काँचो मेवाको सलाद, काज्चीवा टिमुरको छोप,मकैको रोटी र चिप्स,गाजरको हलुवा,साधेको मेवा लगायतका सामाग्री बनाउन सिकाईएको प्रशिक्षक प्रिन्स गुरुङले जानकारी दिनुभयो।
सिद्धार्थ राजमार्गको वालिङबाट झण्डै ४५ मिनेटमा होमस्टे पुग्न सकिन्छ।सो ठाँउमा पुग्ने बाटो कच्ची भए पनि यात्रा निक्कै रमाईलो हुने गर्दछ।
२०७० सालमा सुन्तला पर्यटनलाई जोड दिदै सुन्तलावारी होमस्टेको स्थापना गरिएको उपाध्यक्ष खेमराज गुरुङले जानकारी दिनुभयो।
तालिम पश्चात गाँउमानै उत्पादन भएका खादान्नवालीको प्रयोग गरी अतिथि सत्कार गरिने होमिस्टे सञ्चालकको तयारी छ।५ दिनसम्म चलेको भान्सा व्यवस्थापन तथा खाना पकाउने तालिममा ३० जनाका सहभागिता रहेको दियालो संस्थाका अध्यक्ष सीता पंगेनी गैह्रेले जानकारी दिनुभयो।