ट्रेन्डीङ्ग

ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान भइरहेको छ:आयुक्त सिलवाल

हेटौँडा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोगले साना मात्रै नभएर ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धान गरिरहेको बताउनुभएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले आज यहाँ आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा आयुक्त सिलवालले ठूला भ्रष्टाचारका मुद्दाको पनि अनुसन्धान गरिरहेको उल्लेख गर्नुभयो । सहभागीले ठूलालाई छाडेर साना मुद्दामा आयोग केन्द्रित भएको गुनासो गरेपछि त्यसको जवाफ दिँदै उहाँले ललिता निवासको जस्तै धेरै मुद्दाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

सरकारी सम्पत्ति दुरुपयोगका विषयमा महत्वपूर्ण अनुसन्धान भइरहेको उहाँको भनाइ थियो । मधेश प्रदेशको साइकल खरिद प्रकरणलगायत महत्वपूर्ण अनुसन्धान आयोगले गरिरहेको सिलवालले बताउनुभयो । भ्रष्टाचार निवारण ऐन, २०५९ मा बनेको भन्दै उहाँले संसोधन हुन नसक्दा समस्या देखिएको बताउनुभयो।

उहाँले भन्नुभयो,“भ्रष्टाचार निवारण ऐन २० वर्षसम्म जस्ताको तस्तै त्यहीँ ठाउँमा रहेको छ ।” सिलवालले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर काम नगर्न पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुझाव दिनुभयो । पालिकाका प्रमुख, उपप्रमुख एवं भ्रष्ट्राचार निवारणका क्षेत्रमा काम गरेका सङ्घ संस्थाका प्रतिनिधि एवं सहभागीले राखेका जिज्ञासाको उहाँले जवाफ दिनुभएको थियो।

जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले ऐन कानुन सबैलाई समान भएको भन्दै भ्रष्टाचार नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले समाजका सबै तह र तप्काको सहयोग बिना भ्रष्टाचार निबारण गर्न नसकीने बताउनुभयो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँँडाका प्रमुख नरहरि घिमिरेले भ्रष्टाचारका कारण, असर, लागत, आयोगसम्बन्धी संवैधानिक व्यवस्था, काम कर्तव्य, अधिकारलगायत विषयमा कार्यपत्र पेश गर्नुभएको थियो।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गलत नीतिका कारण भएका नोक्सानको सुनुवाई गर्ने निकाय नहुँदा नीजि क्षेत्र प्रभावित बनेको बताउनुभयो।कार्यक्रममा जिल्लाका पालिकाका प्रमुख र उपप्रमुखले काम गर्दा भए गरेको अफ्ठ्याराका विषयमा प्रश्न गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?