
धनगढी।नेकपा(एकीकृत समाजवादी)पार्टीका निवर्तमान सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन।बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले पार्टी परित्यागको घोषणा गरेका हुन।
‘२०५४ सालमा वामदेबले फुट्बाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे।गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो त्यसको पछि लाग्नेमा म पनि थिएँ,’शाहीले लेखेका छन्,‘पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरूको नै फाइदा पुर्यायो। त्यसबापत पछुतो र आत्मग्लानि भएको छ।विगत ५-६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दलसँग आबद्ध नरहेको घोषणा गर्दछु।’
एमाले विभाजनपछि माधव नेपालको नेतृत्वमा गठन गरिएको नेकपा(एकीकृत समाजवादी)पार्टीले शाहीलाई सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाएको थियो।तर उनको भूमिका राम्रो नदेखिएको भन्दै अध्यक्ष नेपालले डोटीका हर्क सिंहलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका थिए।