
काठमाडौँ।नेकपा(माओवादी केन्द्र)अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही नभएको बताएका छन।
बुधबार भरतपुर विमानस्थल चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले गलत उद्देश्यका निम्ती राष्ट्रघाती भन्ने प्रचार गरिएको बताएका हुन।‘अहिलेको विधेयकको सारतत्व भनेको आमाबाबु दुवै नेपाली नागरिक भएको र उनको छोराछोरीले नागरिकता पाउने भन्ने मात्रै हो,’ उनले भने,‘उनीहरूका छोराछोरीले नागरिकता नपाएर विभिन्न अवसरबाट वञ्चित हुनु परेको छ।’
यस्तै उनले राष्ट्रवादको मखुन्डो लगाएर भोट बटुल्न सकिन्छ भनेर एमाले अध्यक्ष केपी ओलीले भ्रम छरिरहेको पनि आरोप लगाए।
‘केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशका रुपमा लगिएको विधेयक नै हो अहिलेको नागरिकता विधेयक,’उनले भने, ‘यही विधेयकलाई राष्ट्रघाती भन्नु बेइमानी बाहेक अरू केही हुन सक्दैन।’