
काठमाडौँ।नेकपा (एस)ले भदौ २० भित्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने भएको छ।
बुधबार बसेको केन्द्रीय सचिवालयले पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस र निर्णय गर्ने समय तालिका तय गरेको हो।
तालिकाअनुसार भदौ १० भित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला कमिटीमा सिफारिस गरिसक्ने,जिल्लाले भदौ १२ भित्र प्रदेश कमिटीमा र प्रदेश कमिटीले भदौ १५ भित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्ने छ।
केन्द्रीय कमिटीले भदौ २० भित्र उम्मेदवारबारे निर्णय गर्नेछ।
यस्तै सचिवालयले नेकपा(एस) र नेकपा (माओवादी केन्द्र)का नेताहरू सम्मिलित एकता संयोजक समिति गठन गर्ने निर्णय गरेको छ।समितिले दुई पार्टीबीचको एकता र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल,बहस लगायतका कार्यहरू गरी एकताको वातावरण निर्माण गर्नेछ।