
जनकपुरधाम।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरी-२ बाट चुनाव लड्ने भएका छन्।सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै अध्यक्ष राउतले यसअघि २०७४ सालमा उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्ने घोषणा गरेका हुन।
२०७४ सालको प्रतिनिधि सभाको चुनावमा तत्कालीन संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव २१ हजार ६सय २० मत प्राप्त गरि विजयी भएका थिए। उनले माओवादी केन्द्रका उमेश यादवलाई पराजित गर्दै जित हासिल गरेका थिए। उमेश यादवले ११ हजार ५सय ८० मत प्राप्त गरेका थिए।
राउत सप्तरीको महदेवा गाउँपालिका वडा २ निवासी हुन्। गत वैशाखमा भएको स्थानीय चुनावमा उक्त क्षेत्रका केही वडामा जनमत पार्टीले जित हासिल गरेको थियो। जनमत पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित भई पार्टीको केन्द्रिय कमिटीको बैठकमा राउतको उम्मेदवारीको विषयमा छलफल गरेको हो।
अध्यक्ष राउतले केन्द्रीय कमिटीको बैठकमा सहकर्मीहरुको आग्रहपछि आफु उक्त क्षेत्रबाट निर्वाचन लड्ने निष्कर्षमा पुगेको बताए। अध्यक्ष राउतले आगामी निर्वाचनमा सुशासन,सेवाप्रवाह र सामाजिक मुद्दालाई विशेष प्राथमिकतामा राख्ने बताए।
‘देश संघीयतामा गएपनि अझै पनि जनता कहाँ संघीयता पुग्न सकेको छैन्।’ उनले भने ‘स्वायत्तता सहितको संघियता हाम्रो मूल एजेन्डा हो।’ उनले प्रत्यक्ष लोकतन्त्र सहित जनतालाई अनुभूति हुने गरी संघियता र लोकतन्त्रको अभ्यास गर्ने बताए।
२०७५ फागुन २४ गते जनमत पार्टी र तत्कालीन केपी शर्मा ओली सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो। ओली सरकारले राउतसँग ११ बुँदे सहमति गरेको थियो। त्यसयता जनमत पार्टीले तराई मधेस केन्द्रित रहेर आफ्नो राजनीति अगाडि बढाउँदै आएको छ।