ट्रेन्डीङ्ग

पाल्हीनन्दन गाउँपालिकाको नीति तथा कार्यक्रम:कृषि देखि छोरी बीमा र चोक चोकमा सिसिटिभी जडान

बेलासपुर।पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको छ। गाउँपालिका अध्यक्ष बैजू प्रसाद गुप्ता(दीपक)ले गाउँपालिकाको ११ औं गाउँसभाको पहिलो बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पास भएको हो।

गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा कृषि देखि छोरी बीमा र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चोक-चोकमा सिसिटिभी जडानलाई प्राथमिकता दिएको छ।नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले प्राप्त स्रोतसाधनको व्यवस्थित परिचालन गरेर अधिकतम उपलब्धि हासिल गर्ने,स्वरोजगारी सिर्जना गरी गरीब विपन्न परिवारको जीवनस्तर माथी उठाउने र सबै वर्ग,क्षेत्रको सन्तुलित परिमाणमुखी विकासको सिर्जना गर्दै आर्थिक विकास र स्वरोजगार:समृद्ध पाल्हीनन्दनको आधार निर्माणलाई ख्याल गरि सोही अनुसारका योजनाहरु नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो।
विषयगत रुपमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कोरोना संक्रमणका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएका यूवा हरुलाई कृषि तथा पशुपालनमा आवद्ध गराउने,कृषि तथा पशु बिमा, कृषि बजार केन्द्र तथा शितल भण्डार एवं चिस्यान केन्द्रहरु बनाउन सम्भाव्यता अध्ययन गरिने लगायतको कार्यक्रम समेटिएको छ।

गाउँपालिकाले सामाजिक क्षेत्रमा शिक्षक अपुग विद्यालयमा शिक्षक व्यवस्थापन गर्ने,दलित तथा गरीब विधार्थीलाई सहयोग गर्ने,शिक्षा क्षेत्रमा बालिकालाई प्रोत्साहन गर्न बेटी पढाऔ बेटी बचाऔं अभियान सञ्चालन गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत गाउँ भित्रका सीप सिक्न इच्छुक व्यक्तिहरुलाई सीप तालिम संचालन गर्ने,उद्यमशिलता र सीपमूलक तालिम,उद्यमशिलता प्रवर्द्धन तथा रोजगारी सिर्जना सम्बन्धि कार्यक्रम,पशुपालन र कृषि क्षेत्रमा स्वरोजगारी सिर्जना गर्न विशेष कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रममा रहेको छ।

गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्रवाह गर्ने,पाल्हीनन्दन अस्पतालको स्तर उन्नती गर्ने,परिवार नियोजनका कार्यक्रम लागु गर्ने, स्वास्थ्य सेवा लाई थप प्रभाकारी बनाउन जनशक्ति व्यबस्थापन गरिने,आँखा उपचार,जेष्ठ नागरिकलाई नसर्ने औषधी निःशुल्क वितरण गर्ने,निःशुल्क रगतको व्यवस्था गर्ने आदिका लागि आवश्यक बजेटको पहल गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
पालिकाका सबै गाउँ टोलमा फ्री वाईफाईको सुबिधा मिलाउने,भौतिक पूर्वाधारको निर्माण गरिने,वातावरण व्यस्थापन,खेलकुद मैदान व्यवस्थापन,जिम हाउस निर्माण गर्ने नीति तथा कार्यक्रममा रहेको छ।

गाउँपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त बनाउन प्रत्येक कार्यालयमा सिसिटिभी जडान गर्ने,बालमैत्री घोषणाको लागि कार्यक्रम गर्ने,आपराधिक क्रियाकलाप नियन्त्रण गर्न,बेलासपुर,हरपुर,कुश्मा,लोहोरौली, बैरवा,विशुनपुरा,सनई लगायतका चोक चोकमा सिसिटिभी जडानलाई प्राथमिकता दिएको छ।

गाँउपालिकाका उपाध्यक्ष फातिमा खातुन अन्सारीले ५६ करोड १० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत प्रस्तुत गर्नुभएको हो।

निति तथा कार्यक्रम र स्वास्थ्य ऐन पारित भएको छ भने बजेट पारितका लागी अर्को बैठक असार २६ गतेका लागी बोलाईएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?