
बुटवल।नेकपा महासचिव विप्लवले धर्मेन्द्र-सुदर्शन समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको जस्तै भएको बताएका छन्।महासचिव विप्लवले नेकपाद्धारा बुटवलमा आयोजित राजनीतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै धर्मेन्द्र समूहले पार्टी फुटको औचित्य पुष्टि गर्न नसक्ने भन्दै राजनीतिक विचलन आएपछि आवेग र झोकका कारण उनीहरु पार्टीबाट पलायन भएको बताएका छन् ।
महासचिव विप्लवले धर्मेन्द्र समूहको दस्तावेज आवेग र उत्तेजनाको पोको मात्रै भएको भन्दै उक्त समूहमा लागेका इमान्दार कार्यकर्तालाई पार्टीको मूलधारमा फर्किन अपिल गरेका छन्।उनले सिद्धान्त,दर्शन,रणनीति,कार्यदिशा,कार्यनीतिमा कुनै भिन्नता नभएको भन्दै जनतालाई भ्रममा पर्न नहुने बताए।विप्लवले धर्मेन्द्र र सुदर्शनमा गम्भीर वैचारिक विचलन आएपछि पार्टीले कारवाही गरेको भन्दै उनीहरुले भन्दै आएको चुनावको प्रयोग निमित्त कारण मात्र भएको बताए।उनले प्रतिबन्धको बेला आत्मसमर्पण गरेर पार्टीलाई हैरान पारेकाहरुले अहिले अलग पार्टी बनाएको बताए ।
महासचिव विप्लवले आफुहरु संसदवादी भएर नमर्ने भन्दै संसदवाद र अवसरवादका सम्पुर्ण भ्रमहरुलाई च्यात्दै पार्टी अगाडी बढ्ने बताए।धर्मेन्द्र समूहको विश्लेषण मनोगत भएको भन्दै प्रदेश र संघको निर्वाचन प्रयोग नगर्ने स्पष्ट पारे।उनले कम्युनिस्ट भनेको मालिक नभई सेवक र श्रमजीवी भएको भन्दै २० औं शताब्दीमा देखापरेका समस्याहरुको समीक्षा गर्दै क्रान्तिलाई अगाडी बढाउनुपर्ने बताए ।
प्रशिक्षणमा नेकपा सचिवालय सदस्य बिषमले धर्मेन्द्र र सुदर्शनमा वैचारिक विचलन देखापरेपछि पार्टीभित्र समस्या पैदा भएको बताए।उनले कार्यक्रम र कार्यदिशाको आधारमा पार्टी श्रमिक जनताका बीच स्थापित भएको भन्दै गुटवादी र फुटवादीहरुको भ्रममा नपर्न अपिल गरेका थिए।प्रशिक्षणमा केन्द्रीय सदस्यहरु अनिल शर्मा र आदर्शले समेत प्रशिक्षण दिएका थिए।केन्द्रीय सदस्य एवं नवलपुर नवलपरासी इन्चार्ज शरद वलीले १३औं केन्द्रीय समितिद्धारा पारित दस्तावेज वाचन,स्वागत केन्द्रीय सदस्य एवं गुल्मी पाल्पा इन्चार्ज अपेक्षाले स्वागत र केन्द्रीय सदस्य एवं अर्घाखाँची इन्चार्ज संगमले सञ्चालन गरेका थिए ।
केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज भीमको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा रुपन्देही,गुल्मी,पाल्पा,कपिलवस्तु, नवलपरासी,नवलपुर,अर्घाखाँची जिल्लाका सेक्रेटरी, जिल्ला सल्लाहकार,जिल्ला सदस्य एवं विशेष कमिटीका सदस्यहरु गरी २ सयभन्दा बढीको सहभागिता रहेको थियो।कार्यक्रमको अवसरमा संग्रामी सांस्कृतिक परिवारका कलाकारहरु विहानी र रेश्मीले गीत प्रस्तुत गरेकी थिइन।