ट्रेन्डीङ्ग

भावनाको कृषि क्रान्ति,धानखेती छाडेर ड्रागन फ्रुटदेखि माछापालन सम्म

प्रविण विद्रोही,झापा,चैत २। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० ढाट नजिकै पूर्वपश्चिम राजमार्गकाे करिब ५० मिटर उत्तर दिशामा यतिबेला झण्डै ३ बिगाहा जमिनमा ड्रागन फ्रुटकाे खेती देख्न सकिन्छ ।


पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने जो कोहिकाे नजर एकपटक त्यहाँ पर्ने गर्छ। टाढैबाट हरियाली र अनौठो बिरुवाबारे धेरै अनभिज्ञ छन। १३ महिना अघिसम्म कहिले धान खेती त कहिले बाँझै रहने उक्त खेतमा हाल हाइब्रिड सी भेराइटीकाे ड्रागन फ्रुट कतै फुलिरहेकाे देख्न सकिन्छ भने कतै हुर्कँदै गरेका बिरुवा देखिन्छ ।

झण्डै ३ बिगाहा क्षेत्रफलमा रहेकाे खेतीमा झट्ट हेर्दा ड्रागन फ्रुट मात्रै देखिए पनि त्यहाँ पुगिसकेपछि विभिन्न प्रजातिका माछा सहितको पाँचवटा माछा पोखरी,कुखुरा,हाँस,बट्टाई,बाख्रा पालन समेत गरिएको देखिन्छ भने ड्रागन फ्रुट सँगै मेवा र खरबुजाकाे समेत खेती गरिएकाे छ ।

आधुनिक र अर्गानिक समेत रहेको यो खेती मेचीनगर १० की भावना अधिकारी(पोख्रेल)ले सञ्चालन गरिरहेकी छिन्,। उनले “प्याराडाइज एग्रोफार्म”नामकाे कृषि फार्म दर्ता गरेर शुरु गरेकाे यो खेतीमा हाल दैनिक पाँचजनालाई रोजगारी समेत दिएकी छिन् ,भने सिजनमा धेरैले उक्त फर्ममा रोजगारी पाइरहेका छन्,।

झट्ट हेर्दा रहरलाग्दाे अर्गानिक तथा मिठाे फल ड्रागन फ्रुट सहित माछा,बाख्रा,कुखुरा ,हाँस र बट्टाई पालन गरिरहेकी उनले हालसम्म उक्त फर्ममा १ करोड २० लाख रुपैयाँ लगानी भैसकेको बताइन। निकट भविस्यमै उक्त स्थानमा गाई पालन देखि एग्रो टुरिज्मकाे रुपमा विकास गर्ने समेत उद्देश्य रहेको फार्मकी सञ्चालक भावना बताउँछिन।

भारतको हैदरावाददेखि बिरुवा मगाएर शुरुआत गरिएको यो खेतीमा केही समयपछि आफैं बिरुवा उत्पादन गरिने समेत भावनाले बताइन् ।नेपाल कृषि प्रधान देश भएकाले वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै सम्भावना रहेको र अबको युवा पुस्ताले देशमै कृषि क्रान्ति गर्न सक्ने उनको बुझाई छ ।

भावनाका अनुसार फूल फुलेको ३० देखि ३५ दिनभित्र फल पाकेर खानको लागि योग्य हुने र यो फल टिपेर राख्दा १० / १५ दिन सम्म नबिग्रिने हुन्छ । गर्मी स्थानमा बढी हुने यो फल बैशाख अन्तिम देखि असोज अन्तिमसम्म फल दिने र बर्षमा चार लट सम्म फल्ने गर्दछ । यस फलमा फुल फुल्ने,काेपिला लाग्ने र फल फल्ने क्रम एक साथ चलिरहन्छ ।

ड्रागन फ्रुट राेपेकाे २२/२५ वर्षसम्म उत्पादन लिन सकिने भएको कारण सुरुवातमा केही कठिनाइ भएपनि फल दिन थालेपछि खासै मेहनत गर्न नपर्ने भावना बताउँछिन्, । हाल यो खेतीमा सेतो र रातो प्रजातिकाे हाइव्रिड सी भेराइटिकाे ड्रागन फ्रुट रहेको र प्रति केजी ६०० देखि ८०० सम्ममा बिक्री वितरण हुने भावनाले बताइन् ।

एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिंचाई बाहेक अन्य गोडमेल गर्नु नपर्ने र लामाे समय सम्म फल दिने हुनाले अन्न खेतिवालीकाे तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने उनी बताउँछिन् । ड्रागन फ्रुटकाे सुकेको फूललाई ‘ग्रिन टी’को रुपमा समेत प्रयोग गर्न सकिने र यसको बिरुवा पनि गुणकारी हुन्छ ।

‘ड्रागन फ्रुट रसिलो,गुलियो र स्वादिलो फल हो । स्वास्थ्यका लागि अत्यन्तै उपयोगी एन्टिअक्सिडेन्टयुक्त यो फल नयाँ फल भएकाले पनि उपभोक्ताले बढी रुचाउँने गरेका छन । हाल ड्रागन फ्रुटकाे बिरुवा प्रति गोटा ४०० देखि ५०० रुपैयाँ सम्ममा बेच्ने समेत गरेकाे बताउँदै अब आफैं बिरुवा उत्पादन शुरु गर्ने र अझ सस्तोमा बिरुवा पाइने उनलेे बताइन।पछिल्लो समय नेपालमा सफल व्यवसायका रुपमा अघि बढेकाेले धेरैले ड्रागन फ्रुट फलको बारेमा जान्ने इच्छा राख्न थालेकाे भावना बताउँछिन् ।

विशेषज्ञहरूका अनुसार ड्रागन फ्रुट विशेष गरी सुगर र कोलेस्ट्रालका विरामीहरुका लागि अति उपयुक्त मानिन्छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइने भएकोले सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ।यो एन्टिअक्सिडेन्टको राम्रो श्रोत भएकाले बाथ रोगका बिरामीहरुलाई धेरै लाभदायक छ।त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ ।

यो फलको सेवनले शरीरको तौललाई सन्तुलन राख्न मद्दत गर्छ । यसले मानिसलाई सधै जवान राख्न भूमिका खेल्ने र  हुने प्रक्रिया पनि ढिलो गराउँछ।साथै आस्माका रोगिहरुको लागि सहयोगी पनि छ।यो भिटामिन र मिनिरल्सको राम्रो श्रोत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal