
फागुन २२,काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनपत्रकार संगठनका इन्चार्ज बसन्त श्रेष्ठ (प्रज्वलन)ले सूचनाको पहुँच नै सबैभन्दा ठूलो हतियार भएको बताएका छन् । सूचनाका कारण विश्वमा मैहुँ भन्ने शक्ति पनि झुकेको दृष्ठान्त दिदै प्रज्वलनले पत्रकारसँग सबैभन्दा ठूलो सूचना हुने बताए ।
जनपत्रकार संगठन नेपाल उपत्यका प्रदेशले आयोजना गरेको आधारभूत पत्रकारिता तालिम तथा वैचारिक प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता प्रज्वलनले सूचनाको पहुँच भएकै कारण पत्रकार शक्तिशाली भएको बताए । कुनै बस्तुलाई बदल्नु छ भने पहिला त्यसलाई राम्रोसँग अध्ययन गर्न पर्ने भन्दै त्यो अध्ययननै सबैभन्दा ठूलो हतियार भएको उनको भनाई थियो ।
‘कुनै बस्तुलाई बदल्नु छ भने त्यसलाई बुझ्नपर्छ, त्यसको बनोट, छनोट, आकार र वास्तविकता बुझ्न जरुरी छ ।’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामी नेपाली समाजलाई परिवर्तन गर्न चाहान्छौँ । संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हाम्रो लक्ष्य हो । अब हामीले संसदीय व्यवस्थाको बारेमा गहिरिएर अध्ययन गर्दै नेपालको अहिलेको समाजिक चरित्र, भु–राजनीतिक अबस्थालाई गहिरोसँग केलाउन जरुरी छ ।’
यसरी अहिलेको संसदीय व्यवस्थाको चरित्रबारे बुझ्ने जिम्मेवारी पत्रकारको काँधमा आएको भन्दै जनपत्रकारहरुको कलम त्यता पट्टी केन्द्रीत हुनपर्ने उनको भनाई छ । साथै पत्रकारले वैज्ञानिक समाजवाद स्थापनाका लागि जनताले वुझ्ने भाषामा समाचार तयार पार्न पर्ने दायित्व पनि रहेको बताए ।
समाचार सामाग्रीमा समाचार मात्र हुँदैन दृष्टिकोण पनि आउने भएकाले पत्रकारहरुले समाचार र दृष्टिकोण दुबै तिर ध्यान दिनपर्ने उनको भनाई थियो । ‘साथै समाचारमा बर्गिय पक्षधरता र उद्देश्य पनि हुन्छ’ उनले भने ।
त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा ललितपुर, भक्तपुर जिल्ला इन्चार्ज नविन विश्वकर्मा (हितमान)ले पत्रकार पनि एउटा युद्ध मोर्चा भएको बताए । उनले यो मोर्चालाई व्यवस्थित रुपमा प्रयोग गर्न सके आधा युद्ध सजिलै जित्न सकिने बताए ।
साथै उनले जनपत्रकारहरुको काँधमा पुँजीवादी पत्रकारहरुको झण्डाफोर गर्नु पर्ने दायित्व पनि रहेको बताए । कार्यक्रमलाई संबोधन गर्दै जनपत्रकार संगठनका संयोजक शेरबहादुर विश्वकर्माले जनपत्रकारिता समाजिक उत्तरदायित्वको मुल प्रवाह भएकाले यसको रक्षाका लागि वर्गिय पक्षधरतालाई ख्याल गर्दै आवाज विहिनहरुको आवाजलाई बुलन्द पार्नुपर्ने बताए ।
उनले पार्टी अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाझँ पुर्याउन जनपत्रकारको शसक्त भुमिका रहेकोसमेत बताए ।
कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठन, उपत्यका प्रदेश सम्मेलन आयोजक समितिका संयोजक शोभराज बरालले गरेका थिए भने संचालन केशव संज्यालले गरेका थिए । पाँच दिनसम्म चल्ले तालिमका प्रशिक्षार्थीलाई संगठनका केन्द्रीय सदस्य शाहस भट्टले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।