सुनवल ।नवलपरासीको सुनवल नगरपालिका वडा नं ३ को टोलीले प्रथम जेनिथ कप फुटबल प्रतियोगितामा उपबिजेता भएर प्राप्त गरेको शिल्ड सुनवल वडा कार्यलयलाई हस्तान्तरण गरेको छ। टोली वडा नं ३ मा अवस्थित किर्तिपुर युवा क्लब, किर्तिपुर २, र नदुवा युवा क्लब,नदुवा टोल मिलेर गठन गरिएको थियो।
उपाधिसँगै प्राप्त शिल्डलाई विशेष कार्यक्रमको आयोजना गरी वडा कार्यालयमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा किर्तिपुर-२ युवा क्लबका अध्यक्ष दिपक श्रेष्ठ र नदुवा युवा क्लबका अध्यक्ष हिमेश थापाले संयुक्त रूपमा अध्यक्षता गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष पविन गुरुङले टोलीको उत्कृष्ट प्रदर्शनको प्रशंसा गर्दै खेलकुदले वडा नं ३ को पहिचान थप उजागर गरेको र युवाहरूलाई प्रेरणा दिएको बताए। उनले वडामा खेलकुद गतिविधिहरूलाई प्रोत्साहन गर्न थप स्रोत र साधन उपलब्ध गराउने प्रतिबद्धता जनाए। विशेष अतिथि वडा सदस्य श्याम गुरुङले सामूहिक प्रयास र सहकार्यले टोलीलाई सफलता दिलाएकोमा खुसी व्यक्त गरे।
कार्यक्रममा टिमलाई सहयोग गर्ने दाता, खेलाडी, र युवा क्लबका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले टोलीको उत्साहवर्धन गर्न र समर्पणको सम्मान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
शिल्ड हस्तान्तरण टोलीका कप्तान साकार श्रेष्ठ, प्रशिक्षक बिमल बुढाथोकी र मेनेजर महेश रानाले हस्तान्तरण गरेका । प्रशिक्षक बिमल बुढाथोकीले सामूहिक प्रयास र एकताको परिणामस्वरूप यो सफलता सम्भव भएको बताए। कप्तान साकार श्रेष्ठले आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।