साउन २८ कैलाली विप्लव नेतृत्व नेकपा निकट अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र बिकको घरमा पक्राउपुर्जी टाँस गरिएको छ । मंगलबार लम्कीचुहा नगरपालिका वडा नम्बर १ स्थित संयोजक बिकको घरमा जिल्ला अदालत कैलालीद्वारा जारी सूचना टाँस गरिएको हो ।
आफ्नो घरमा पक्राउपुर्जी टाँस गरिएपछि अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र बिकले सरकारले झुट्टा मुद्धा बनाएर नेकपासंगको सहमति भाँड्न खोजेको आरोप लगाएका छन् । प्रतिबन्धकै क्रममा आफूलाई गिरफ्तार गरेर अदालती प्रक्रियाबाट जमानतमा रिहा भएको जनाउँदै राजद्रोहको नाममा हाल आएर पक्राउपुर्जी जारी गर्नु सरकारले मुडभेट निम्त्याउन खोजेको उनको भनाई थियो ।
सरकारसँग तीन बुँदे सहमति गरेर वार्तामा आएको नेकपा सहमति कार्यान्वयनमा खासै प्रगति हुन नसक्दा उद्वेलित भएको छ । आफ्नो पार्टीले इमानदार भएर सहमति कार्यान्वयन गरिरहेको र सरकार पनि इमानदार बनोस् भन्ने चाहना रहेको उनले बताए । नेकपा केन्द्रीय सदस्य तथा वार्ताटोलीका सदस्य उदयबहादुर चलाउने ‘दिपक’ले सहमति भएको पाँच महिना नाघिसक्दा पनि आफूहरूले संयमता अपनाइरहेको र सरकारले श्रृङ्खलाबद्ध रूपमा झुट्टा मुद्धामा पक्राउपुर्जी जारी गरिरहने हो भने आफ्नो पार्टी पनि कडा प्रतिवाद गर्न बाध्य हुने बताए ।
सहमति कार्यान्वयन नहुँदा राजनैतिक मुद्दाहरूमा सम्वाद अगाडि बढ्ने सम्भावना घट्दै गएको र यसले राजनैतिक मुडभेट निम्त्याउन सक्ने समेत उनले बताए । सरकारले जिम्मेवार बन्दै सहमति विपरीतका कार्य नरोक्ने हो भने नेकपा समेत सहमति कार्यान्वयन गर्न बाध्य नहुने उनको भनाइ छ ।