परासी, १९ साउन। पश्चिम नवलपरासीमा नेपाली कांग्रेसको क्रियाशिल सदस्य बिवाद चुलिएको छ । केहि दिन अगाडि कांग्रेसको एक समहुले केही वडाहरूमा क्रियाशील सदस्यहरूको नामावली केन्द्रमा थपघट गरेको भन्दै काँग्रेसको एक समूहले रद्द गर्न माग गरेको थियो । आज अर्को समुहले भ्रम छर्न खोजेको आरोप लगाएको छ।
संघीय क्षेत्र कार्य समिति क्षेत्र नं. २ का सभापति नरेन्द्र कुमार गुप्ता र सोही क्षेत्रका प्रदेश कार्य समिति सभापति दिनेश मणि पटेलले आइतबार विज्ञप्ति निकालेर प्रक्रिया नपुगेका कारण जिल्ला र क्षेत्रले समेत टुंगाउन नसकेका नामहरू जिल्लाका केही नेताहरूको दबाबमा केन्द्रमा थपघट गरेको आरोप लगाइएको हो ।
रामग्राम नगरपालिकाको वडा नं. ३, १५,१६ र पाल्हीनन्दन गाउँपालकाको वडा नं. ४ मा सदस्यता सम्बन्धी वडा स्तरबाटै विवाद उत्पन्न थियो । केन्द्रमा गठित छानबिन समितिको प्रतिवेदनले समेत उक्त वडाहरूमा नयाँ सदस्यता थप नगरी १३ औँ महाधिवेशनका सदस्यबाट अधिवेशन गर्न राय दिइएको तर अधिवेशन आफू अनुकूल बनाउन जिल्लाका केही नेताहरूले नामावली थपघट गरेको आरोप विज्ञप्तिमा उल्लेख गरेका छन । छानबिन समितिले टुङ्गो लगाउन नसकेका नामावलीहरू अहिले केन्द्रीय पदाधिकारीहरूलाई जिम्मा दिइएको र नाम थपघट गर्दा अधिवेशननै प्रभावित हुने भएकाले त्यसलाई रद्द गरी समितिले बुझाएको रायलाई मान्यता दिन उनीहरूको माग छ ।
अन्य पालिकाहरूका केही वडाहरूमा पनि एकपक्षीय रूपमा नामावली थप घट गर्ने,पोष्टिङ्ग भइसकेका नाम झिकेर आफू अनुकूलका व्यक्तिहरूको नाम राख्ने कार्य भइरहेकोले त्यसतर्फ समेत केन्द्रीय पदाधिकारीहरूलाई ध्यानाकर्षण गराउँदै विज्ञप्तिमा त्यस्ता नामावलीहरू रद्द गर्न विज्ञप्तिमा माग गरिएको छ । जिल्लाबाट नयाँ र पुराना गरी ९ हजार बढी क्रियाशील सदस्यहरूको नामावली पठाइएको पार्टी जिल्ला समितिले जनाएको छ ।
पार्टीका जिल्ला सभापति बिष्णु पौडेलद्धारा जारी विज्ञप्तीमा बिधान बमोजीम वडा तथा गाउं नगरबाट सिफारिस गरिएका क्रियाशिल सदस्यहरु समाबेश भएको भन्ने बुझिएको कुरा उल्लेख गर्दै विधान बिपरित जिल्ला तहबाट कुनै किसीमको केन्द्रलाई दवाव नरहेको कुरा स्पष्ट पादै जिल्लाको तर्फबाट कुनै किसीमको केन्द्रमा दवाव नदिईएको कुरा स्पष्ट पार्नुभयो ।
यसैगरी नेपाली कांग्रेस,नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम )२ का संघीय क्षेत्रिय सचिव आनन्दकन्द मिश्र , सचिव माधव प्रसाद पाण्डे र सचिव प्रदिप सिंह क्षेत्रले संयुक्त रुपमा जारी गर्नुभएकोमा विज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित रहेका क्रियाशिल सदस्य समेत केन्द्रमा पठाएको विवाद झिक्दै आएको बिज्ञप्ती जारी गरिएको प्रति गम्भीर ध्यानाकर्षण जनाउनुभयो ।
यसैगरी रामग्राम नगर कार्य समितीका कार्यवहाक सभापति श्रीधर वस्याल र पाल्हीनन्दन गाउं कार्य समितीका सभापति हरिहर चौहानद्धारा जारी बिज्ञप्तीमा सभापति गुप्ता र पटेलले विधान बिपरित क्रियाशिल सदस्य थप्ने उदेश्यले सयौ व्यक्तिहरुलाई सदस्यता दिलाउन किर्ते काजगपत्र तयार गरि केन्द्रमा पठाएपनि थप नभएपछि जिल्लामा सदस्यता विवाद सृजना गरी बिज्ञप्ती जारी गरी भ्रामक प्रचार गरिएको प्रति आपत्ती प्रकट गरिएको छ ।
जिल्लामा काँग्रेसका २ समूह छन् । जिल्ला सभापतिका लागि अहिले संविधानसभा सदस्य विक्रम खनाल समूहबाट अर्जुन कुमार पोखरेल र देवेन्द्रराज कँडेल समूहबाट मोहन शर्माको नाम चर्चामा छ । पोखरेल वर्तमान जिल्ला उपसभापति हुन भने शर्मा शिक्षक संघका पूर्वअध्यक्ष हुन् ।