बर्दघाट।संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले पीडकको सम्पत्तिबाट सरकारले असुल गरि सहकारी पीडितको रकम फिर्ता दिनुपर्ने बताए।साना किसान कृषि सहकारी संस्थाको रजत जयन्ती कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै खनालले सहकारीमा सदस्यहरूले बचत र शेयरको रुपमा राखेको पैसाको ग्यारेन्टी राज्यले लिनुपर्ने धारणा राखे।
खनालले सहकारी पीडितलाई राज्यले यो वा त्यो नभनी छानबिन गर्नु पर्नेमा जोड दिँदै कुनै पनि निर्दोष व्यक्ति पर्ने नहुने र दोषी व्यक्ति कानुनी दायराबाट उम्कन नहुनेमा जोड दिए।”कानुन अनुसार पीडक देखिएमा निजको सम्पत्तिबाट असुल उपर गरी सहकारी पीडितलाई रकम दिनुपर्छ।”खनालले भने।
स्थानीय व्यक्तिहरूको सहभागी र नेतृत्व भएको सहकारी अहिले पनि बलियो भएको उल्लेख गर्दै खनालले केही सहकारीमा आएको समस्यालाई लिएर सबै सहकारीहरूलाई एउटै डालोमा हालेर मुल्यांकन गर्ने नहुने बताए।अहिले सरकारले अध्यादेश ल्याएर कतिपय सहकारी संस्थाहरूमा रहेका बेथितिहरूलाई निगमन गरेर सहकारीहरू व्यवस्थित गर्न खोजेको खनालको भनाइ छ।सहकारी क्षेत्रप्रति आम धारणा सुधार्न र यसको विश्वसनीयता कायम गर्न नियमको पालना र सुदृढ व्यवस्थापन अपरिहार्य रहेको खनालले बताए।
लुम्बिनी प्रदेश कृषि, वन वातावरण समितिका सभापति बिश्वप्रेम पाठकले अन्य सहकारीले भन्दा किसानलाई यसले राम्रो गरेको दाबी गरे। त्यस्तै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले नीति र विधिमा नचलेका सहकारीहरूमा समस्या आएको बताए।’अहिले समुदायको प्रत्यक्ष संलग्नता रहेका सहकारीहरुमा कुनै पनि समस्या छैन। निती र विधिमा चलिरहेका सहकारीहरू राम्रोसँग चलिरहेको छन । केही सहकारीहरू नीति बाहिर चलेको र अहिले तिनिहरुमा समस्या देखिएको छ ।’ श्रेष्ठले भने।
बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंले पञ्चनगर साना किसानको वित्तीय अवस्था हेर्दा संस्था बलियो रहेको उल्लेख गर्दै संस्थाले शेयर सदस्य केन्द्रिय सेवा र कर्जा लगानी गर्दा उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने धारणा राखे।कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका बुटवल शाखाका प्रबन्धक बिधुर अर्याल र जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुलदिप आचार्यले समुदायको अपनत्व नभएका केही सहकारीहरू बिग्रीएको बताए।
कार्यक्रममा सस्थापक अध्यक्ष ऋषिराम सुबेदी,जेष्ठ सदस्य पशुपति अधिकारी, अम्बि कुमारी घर्तीलाई सम्मान गरिएको छ।शेयर सदस्य परिवारका सदस्यहरु छोरा छोरी विद्यार्थी १२ कक्षाको परिक्षामा उत्कृष्ट नतिजा ल्याउने उज्ज्वल काफ्ले र इन्द्र कुमारी चौधरी,सस्थापक शेयर सदस्यहरु, सस्थाले गरेको कार्यक्रमहरुमा रक्तदान,हाजिरी जवाफ, दौड घैटो फोर,कुर्चि दौड प्रतियोगितामा प्रथम, दोस्रो र तृतीय स्थान हासिल गर्नेलाई सम्मान गरिएको छ।
संस्थाका अध्यक्ष मथुराप्रसाद थारुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बद्री प्रसाद सुबेदीले गर्नु भएको थियो।सस्थाले रजत जयन्तीको अवसरमा स्मारीका बिमोचन समेत गरिएको छ।