ट्रेन्डीङ्ग

बर्दघाटमा कार्यविधि उलंघन गर्दै शिक्षक सरुवा

बर्दघाट।पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले सोमबार २१ जना शिक्षक सरुवा गर्दा आफैले बनाएको कार्यविधिकै उलंघन गरेको पाइएको छ।शिक्षक ब्यबस्थापन गर्नका लागि भन्दै नगरपालिकाले गत जेठ १९ गते बर्दघाट नपाको दरबन्दी मिलान तथा शिक्षक ब्यबस्थापन सम्बन्धी कार्यविधि २०८० स्थानिय राजपत्रमा प्रकाशित गरेको छ।

कार्यविधिको परिच्छेद ४ को दरबन्दी मिलान कार्यदलको ब्यबस्था ६ (१) अनुसार नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक दरबन्दी मिलान सम्बन्धी कार्य गर्न नगर शिक्षा समितिले ३ सदस्यीय कार्यदल गठन गर्ने उल्लेख छ।कार्यदलमा सामाजीक विकास समितिका संयोजकको संयोजकत्वमा नगर शिक्षा समितिका सदस्यहरु मध्यबाट नगर प्रमुखले तोकेको एकजना र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने ब्यबस्था छ।

नगरपालिकाले २१ जना शिक्षक सरुवा गर्दा दरबन्दी मिलान कार्यदलको बैठक नै नबसी गरिएको छ।जबकी कार्यदलले शिक्षक दरबन्दी मिलानका लागि विद्यालयगत मौजुदा शिक्षक संख्या, दरबन्दी मिलानका लागि कायम हुने शिक्षक संख्या र थप दरबन्दीका लागि पुग्नुपर्ने न्यूनतम विद्यार्थी संख्या यकिन गर्नुपर्ने हुन्छ । तर कार्यदलको कुनैपनि छलफल र बैठक समेत नबसी शिक्षकहरुको काज सरुवा गरिएको छ ।

कार्यदलका सदस्य सचिव एवं शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले कार्यदलको बैठक बसेको आफुलाई जानकारी नभएको बताए। पन्थी भन्छन“हामी कर्मचारी हौं निति बनाउने भन्दा पनि जनप्रतिनिधिले बनाएको निति कार्यान्वयन गर्ने हो । ”

कार्यदलका संयोजक भिमकाजी गुरुङले कार्यदलको बैठक नबसिएको तर नगर शिक्षा समितिमा रहनु भएका साथीहरु विच छलफल गरिएको बताए।“कार्यविधि अनुसार कार्यदलको बैठक नबसे पनि कार्यदलमा रहने ब्यक्तिहरु विच छलफल गरिएको गुरुङले बताए।”

कार्यदलका संयोजक र सदस्य सचिवको भनाईबाट पनि शिक्षक सरुवा कार्यविधि अनुसार नभएको प्रष्ट हुन्छ कि कार्यदलले शिक्षक दरबन्दी मिलान यकिन गर्ने र अनुमोदनका लागि नगर शिक्षा समितिमा पेश गर्नुपर्ने कार्यविधिमा भएपनि त्यसो गरेको पाईएन।

नगर शिक्षा समितिका एक सदस्यले नाम नखुलाउने शर्तमा भने“शिक्षा समितिको बैठकमा कार्यदलले कुनै सुचि पेश गरेन मेयर र उपमेयर ज्यूले नगरको शिक्षामा सुधार ल्याउँछौं भन्दा हामी विरोध नगरी समर्थन गरेका हौं । जुन कार्यविधि अनुसार मिलेको छैन।”नगर शिक्षा समितिको बैठकमा शिक्षा समिति संयोजक एवं नगर प्रमुख सम्भुलाल श्रेष्ठले २२ जनाको सुचि पेश गर्नुभएको उनले बताए। नगर प्रमुखले २२ जनाको सुचि पेश गरे पनि २१ जना शिक्षकको मात्र काज सरुवा गर्ने निर्णय गरिएको छ ।



नगर प्रबक्ता सन्तबहादुर गाहाले शिक्षकहरुको काज सरुवा कार्यविधि अनुसार गर्न नसकिएको बताए।गाहाले भने“नगरले शिक्षक सरुवाको निर्णय त गर्‍यो तर हामीले नै बनाई स्थानिय राजपत्रमा प्रकासित भएको कार्यविधिलाई पूर्णरुपमा पालना गर्न सकेनौं।”

दरबनदी मिलान कार्यविधि परिच्छेद २ को शिक्षक सरुवा काज तथा दरबन्दी मिलान सम्बन्धी ब्यबस्था अन्तरगत ४ (११) अनुसार कक्षा १ देखी कक्षा ५ सम्म संचालन भएका विद्यालयहरुलाई कम्तीमा एउटा स्थायि दरबन्दीको ब्यबस्था गर्ने उल्लेख छ । त्यस्तै १२ र १३ मा कक्षा ६ देखी ८ सम्म संचालन भएकोमा एक जना निमावि तहको र कक्षा ९, १० संचालन भएकोमा कम्तीमा १ जना मावि तहको शिक्षक दरबन्दी स्थानान्तरण गर्ने उल्लेख गरिएको छ।

तर नगर भित्र रहेका ८ वटा आधारभुत तहका विद्यालयहरु मध्ये जम्मा २ वटा विद्यालयमा मात्र निमावि तहको दरबन्दी काज सरुवा गरिएको छ । मा.वि. तर्फ ११ वटा मा.वि. मध्य राष्ट्रिय माविमा मात्रै मा.वि तहको दरबन्दी उपलब्ध गराईएको छैन । श्रोतका अनुसार हाल त्यहाँ प्रधानाध्यापको रुपमा कार्यरत रहेका शेषकान्त पौडेल अन्यत्र जान नमानेका कारण मा.वि तहको दरबन्दी पठाउँदा उनको प्र.अ पद जाने भएकाले मा.विको दरबन्दी नपठाईएको हो ।

शिक्षक सरुवा गरिएको प्रति नगर शिक्षक महासंघले असन्तुष्टि ब्यक्त गरेको छ । महासंघका अध्यक्ष सभ्यता प्रसाईले कुनै आधार र मापदण्ड विना आफुखुसी शिक्षक सरुवा गरेको बताए। “ दरबन्दीका नाममा एउटै विद्यालयबाट ३/४ जना शिक्षकलाई आफुखुसी सरुवा गरिएको छ। ”


नेपाल शिक्षक संघ बर्दघाटका निवर्तमान अध्यक्ष पुर्णकान्त गिरीले कार्यविधिलाई लत्याउँदै शिक्षकलाई काज सरुवा गरेको बताए ।“ नगरले बनाएको कार्यविधिको धज्जी उडाउँदै केही जनप्रतिनिधिले मनोमानी तरिकाले शिक्षक सरुवा गरेको निवर्तमान अध्यक्ष गिरिले आरोप लगाएका छन। ”

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शिक्षक सरुवामा कार्यविधि नहेरेको बताए।”नगर प्रमुख ज्यूले प्रस्तावमा ल्याउनुभएको सुचिलाई पारित गरियो उपप्रमुख उपाध्यायको भनाइ छ। ”

नगर प्रमुख सम्भुलाल श्रेष्ठले पूर्ण रुपमा कार्यविधि अनुसार शिक्षक सरुवा गर्न नसकिएको स्वीकार गर्दै ” हामीले शिक्षक सरुवा गर्दा सकभर कार्यविधि अनुसार नितिलाई टेकेर गरेका छौं तर कहिँ कतै ब्यबहारीक पक्षलाई हेर्दै सहमतीका आधारमा समेत सरुवा गरेका बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?