परासी।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीका पाँच जना सदस्यले सदस्यता त्याग गरेका छन।नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले संस्था शुद्धिकरण अभियान सञ्चालन गरेको छ।सोही अभियान अन्तरगत जिल्ला शाखाले हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नभएका र अन्य पेशालाई मुल पेशा बनाएका सदस्यहरुलाई सदस्यता त्यागको स्वघोषणा गरी संस्था शुद्धिकरणलाई सहयोग गर्न आव्हान गरेअनुसार उनीहरुले सदस्यता त्याग गरेको जिल्ला अध्यक्ष हरि शर्माले बताए।
सदस्यता त्यागको स्वघोषणा गर्नेमा जिल्ला शाखाका पूर्वसभापतिदेखि सचिव र कार्य समिति सदस्यसमेत छ । शुद्धिकरण अभियानमा सहयोग भन्दै सदस्यता त्याग गर्नेमा पूर्वसभापति रामप्रसाद पाण्डे, पूर्वजिल्ला सचिव सञ्जय कणर्, पूर्वकार्यसमिति सदस्य ताराचन्द्र बर्मा, उर्मिला वनिया र सुनयना चौधरी रहेका छन् । ‘महासंघलाई विशुद्ध पत्रकारिता गर्ने सदस्यहरुको मात्र संस्थाका रुपमा अघि बढाउने कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले सदस्यता त्याग गरेका छौं ।’ उनीहरुले महासंघमा बुझाएको छुट्टाछुट्टै स्वघोषणा निवेदनमा उल्लेख गरेका छन् ।
त्यसरी सदस्यता त्यागको स्वघोषणा गर्ने सदस्यले विगतमा महासंघ र जिल्लाको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान हेरेर जिल्ला शाखाले उनीहरुलाई मानार्थ सदस्यका रुपमा केन्द्रमा सिफारिस गर्न सकिने समेत संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा उल्लेख छ।जिल्लामा ८६ जना सदस्य छन् । पत्रकारिताभन्दा अन्य पेशालाई मुल पेशा बनाएका र निष्कृय रहेका केही सदस्यहरुले पनि आफूहरुले संस्था शुद्धिकरणका लागि सदस्यता त्यागको स्वघोषणा गर्ने जनाएको अध्यक्ष शर्माले बताए।
महासंघले जारी गरेको संस्था शुद्धिकरण मापदण्ड निर्देशिकामा जनप्रतिनिधि,निजामती तथा अन्य जुन सुकै सरकारी निकायको स्थायी,अस्थायी,करार सेवामा कार्यरत(मिडियासँग सम्बन्धित सरकारी र संस्थानबाहेक)तथा तथा गैरसरकारी संस्था(सहकारी, बैंक, फाइनान्सलगायत अन्य संघ संस्था)मा पूणर्कालीन काम गर्नेको सदस्यता नवीकरण नहुने र नयाँ सदस्यता पनि प्राप्ती नहुने उल्लेख छ। त्यसैगरी मापदण्डमा महासंघको सदस्यता लिएका तर कहिले काही मात्र पत्रकारिता गर्नेको समेत सदस्यता नवीकरण नहुने उल्लेख छ।
कुल ८६ जना सदस्य रहेकोमा शुद्धीकरण अभियानले ३५/४० जना मात्र रहने बताईएको छ।