सुनवल।पश्चिम नवलपरासीको सुनवलमा पालिका स्तरीय पुर्ण खोप कार्यक्रमको समिक्षा तथा पुर्णखोप दिगोपना र सरसफाई प्रर्वद्धन सम्बन्धि अभिमुखिकरण र दिगोपनाका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा पालिकामा नियमित खोपको अवस्था, सरसफाइ,पुर्ण खोपको दिगोपना र प्रबद्र्धन लगायतका बिषयमा छलफल भएको थियो।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले खोप कार्यक्रमको महत्व,नियमित खोप मार्फत सरसफाई प्रबद्र्धन कार्यक्रमको निरन्तरताका लागि खोपको औचित्य तथा प्रभावकारीतामा हरेक स्थानिय तहले सकृय भुमिका खेल्नु पर्ने बताउनुभयो।
सो अवसरमा नगर स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले आगामि कार्ययोजना प्रस्तुत गर्दै पालिकाको अहिलेसम्मको स्वास्थ्य अबस्था बारे जानकारी गराउनुभएको थियो ।
नगर भित्रका सवै वडालाई चैत अन्तिम हप्ता भित्र पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सवै वडामा चैत दोस्रो सातासम्म सवै घर घरमा पुगेर छुटेका बालबालिका भेटिएमा खोपको पहुँच सम्म पु¥याउने स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका नगर प्रमुख विमला अर्यालले बालबालिकालाई पूर्ण मात्रामा खोप लगाई नगरलाई पूर्ण खोप सुनिश्चितता गर्न सवै सचेत भएर लाग्नु पर्ने बताउनुभयो।उहाँले स्वास्थ्य क्षेत्र सुन्दा एउटा मात्रै जस्तो लागे पनि स्वास्थ्य नभए सवै क्षेत्र कमजोर हुने बताउनुभयो ।
नगरपालिका खोप समन्वय समिति संयोजक समेत रहनुभएकी नगरप्रमुख अर्यालले राज्यले स्वास्थ्य क्षेत्रमा धेरै लगानी गरेको बताउँदै नगरले पनि स्वास्थ्य क्षेत्रको सुधार र गुणस्तरियताका लागी विभिन्न योजना सहित बजेट विनियोजन गर्ने बताउनुभयो । उहाले पाठेघरको मुखको क्यान्सर परिक्षणका लागि कलष्टर विभाजन गरेर आगामी बजेटमा कार्यक्रम ल्याउने बताउनुभयो ।
साथै गुणस्तरिय सेवा प्रदानका लागी सवै स्वास्थ्यका कर्मचारी सचेत भएर लाग्न नगरप्रमुख अर्यालले आग्रह गर्नुभयो।
प्रशासकिय प्रमुख भक्तिराम मरासिनीले खोप अनिबार्य लगाउनुपर्ने र सबैलाइ पुर्ण खोपको सुनिश्चितताका लागी सबै जनामा सचेतना फैलाउन आबस्यक रहेको बताउनुभयो।सिनियर अहेव चुरामणी नेपालले नगरको प्रमुख योजनाका रुपमा पहिलोमा स्वास्थ्य र दोस्रोमा शिक्षालाई प्राथमिकता दिदै नगरका अन्य योजनाहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा युएसआईडिको आर्थिक सहयोगमा सञ्चालित स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमको समापन तथा कार्यक्रम हस्तान्तरण गरिएको थियो।
स्वास्थ्यको लागि सक्षम प्रणाली कार्यक्रमका वरिष्ठ प्राविधिक अधिकृत दामोदर न्यौपानेले हालसम्म भएका नतिजाहरुका वारेमा प्रस्तुतिकरण राख्नुभएको थियो।
नगरपालिकाको सभाहलमा भएको गोष्ठिमा नगर भित्रका वडा अध्यक्ष,कार्यपालिका सदस्य,स्वास्थ्य शाखाका कर्मचारी,महिला स्वास्थ्य स्वयमसेविका लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो।
सुनवल नगरपालिका गत साल चैत २५ मा पुर्ण खोप सुनिश्चिता दिगोपना घोषणा भईसके पनि नया जन्मने बच्चाहरुलाई खोपको पहुचमा ल्याई यसको दिगोपना कायम राख्नु आवश्यक छ ।