हेटौंडा।हेटौँडामा सोमबार स्कुल बससहित पाँच वटा गाडी एकापसमा ठोक्किदा १५ जना घाइते भएका छन।पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१५,रातोमाटेमा बिहान ९ बजेतिर गाडीहरू ठोक्किएका हुन।
दुर्घटनामा विद्यार्थीहरू सहित कम्तीमा १५ जना घाइते भएका छन।उनीहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।
‘दुर्घटनाग्रस्त गाडीहरूलाई हटाएर आवतजावत खुलाइसकेका छौँ,’ उनले भने,‘घाइतेहरूको अवस्था सबैको सामान्य छ।’
डीएसपी कार्कीका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको रिलायन्स स्कुलको बस (ना १ क ५१२३)लाई पछाडिबाट आएको ट्रक (ना ५ ख ६२५४)ले ठक्कर दिएको थियो।
त्यसपछि विपरीत दिशाबाट आएको ट्यांकर (लु १ त ४३७०)लाई ट्रकले ठक्कर दियो।ट्यांकर अनियन्त्रित भएर कार (बा ७ च ९६०४)लाई ठक्कर दिएको थियो। फेरि ट्रकले रोकिराखेको क्लिंकर बोकेको लरीलाई पनि ठक्कर दिएको उनको भनाइ छ।
दुर्घटनाको प्रकृति हेर्दा ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ।