असोज १३ काठमाडौ ।युट्युब च्यानलबाट महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएको आरोपमा चार युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ ।
साइबर ब्यूरोका अनुसार पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७, दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३, नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका वेलवारी नगरपालिका ९, मेरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका ४, दोलखाका रोधन तामाङ रहेका छन् ।
उक्त सामग्रीले महिलाको चरित्र हत्या भएको, इज्जत तथा प्रतिष्ठामा आँच पुराई महिलाप्रति घृणा वा द्वेषभाव पैदा गराएको कारण उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार तस्विरसहितको भिडियो प्रसारण गरी महिलाको चरित्र हत्या गरेको, महिलाको इज्जतमा आँच पुर्याएको र पीडित महिलाप्रति घृणा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।