काठमाडौं।दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन।दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो।
भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि अनुसन्धान गरिरहेका छन्।
यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ।
गत ३ डिसेम्बरमा राष्ट्रपति योलले मार्शल ल घोषणा गरेका थिए।उत्तर कोरियाका कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम जरुरी भएको उनको तर्क थियो।
तर आफ्नै पार्टीका नेता र विपक्षी दललगायतको विरोधमा उनले आफ्नो निर्णय ६ घण्टामै फिर्ता लिएका थिए । यो घटनापछि १४ डिसेम्बरको दिन उनीविरुद्ध संसदबाट महाअभियोग प्रस्ताव पास भएको थियो । त्यसयता उनी पदबाट निलम्बित अवस्थामा छन् ।
यो विषय संवैधानिक अदालतमा विचाराधिन छ । दक्षिण कोरियाको कानुन अनुसार महाअभियोग लागेपछि पदमुक्त हुने कि नहुने भन्ने अन्तिम निर्णय गर्ने अधिकार संवैधानिक अदालतमा हुन्छ ।
उनले चालेको कदमको विषयमा सोधपुछ गर्न भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीले तीनपटकसम्म उपस्थित हुन राष्ट्रपति योललाई भनेका थिए । तर, उनी उपस्थित नभएपछि अनुसन्धानमा बाधा पुगेको भन्दै अदालतबाट पक्राउ पुर्जी लिएका थिए ।
पक्राउको विरोधमा उनका समर्थकहरुको ठूलो भिड जम्मा भएको थियो । पक्राउ परेपछि राष्ट्रपति योलले आफ्नो गिरफ्तारी गैरकानुनी भएको जिकिर गरेका छन् । तर रक्तपात रोक्न आफूले गिरफ्तारी स्वीकार गरेको उनले बताएका छन्।