ट्रेन्डीङ्ग

अध्यक्षसहित ४ जनामाथि अवैध काठ कटानको आरोप,अध्यक्षले भने सहमतिमा काटिएको

सुनवल।पश्चिम नवलपरासीको सुनवल स्थित जनउदय सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष र अन्य तीन जना सदस्यमाथि बन क्षेत्रबाट सिसौका काठ चोरी र अवैध कटानको आरोप लागेको छ।

सब डिभिजन वन कार्यलय सुनवलमा दिएको निवेदन अनुसार अध्यक्ष बिरबहादुर सुनार,उपाध्यक्ष रञ्जिता बुढाथोकी,सहसचिव खेमबहादुर गुरुङ र सदस्य राजु गुरुङले आपसी मिलेमतोमा सामुदायिक बन क्षेत्रबाट अवैध रूपमा काठ कटान गरी लुकाएर राखेको आरोप लगाएका छन।

सोही समूहका निवर्तमान अध्यक्ष बल बहादुर थापा र अन्य १४ जना सदस्यले घटनाको छानबिन र कारबाहीको माग गर्दै सुनवल सब-डिभिजन बन कार्यालयमा उजूरी दर्ता गरेका छन।

आरोपको खण्डन गर्दै अध्यक्ष बिरबहादुर सुनारले उपभोक्ता समूहका सदस्यहरूको सहमतिमा मात्रै ढलापडाका रुख काटिएको र काठ कार्यालय परिसरमै सुरक्षित राखिएको बताएका छन।

सब-डिभिजन वन कार्यालयका प्रमुख मरिच लामाले स्थलगत निरीक्षणका क्रममा कार्यालय पछाडि ६४ थान सिसौका गुलिया, खयर र दाउदा काठ फेला परेको पुष्टि गरे।घटनाको छानबिन र दोषीको पहिचान थप अनुसन्धान पछि मात्र स्पष्ट हुने सब डिभिजन प्रमुख लामाले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?