![](http://safalpost.com/wp-content/uploads/2023/08/R.jpeg)
परासी । शैक्षिक शत्र सुरु हुना साथ विद्यार्थीको हात हातमा पुस्तक पुग्नु पर्ने हो । नेपालका दुर्गमका जिल्लामा पाठ्यपुस्तक पुग्न ढला भएका खबर तपाई हाम्रा लागी कुनै नौलो होईन । तर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको वडा नम्बर ४ मा रहेको नवजीबन माद्यामिक विद्यालयमा शैक्षिक सत्र सुरु भएको ५ महिना हुँदा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन ।
बर्दघाट नगरपालिकाले पुस्तक खरिदका लागि शैक्षिक शत्रको सुरुमै सबै विद्यालयलाई रकम उपलब्ध गराएपनि अहिलेसम्म पुस्तकहरु उपलब्ध नहुनुले विद्यार्थीको भविष्यमाथी गम्भिर खेलबाड भैरहेको छ ।
नवजीबन मावीमा पुस्तक खरिदका लागि २ लाख १२ हजार ७ सय ५६ रुपैँया नगरपालिकाले निकासा गरेको हो । विद्यार्थीहरुले किताब बिना नै प्रथम त्रैमासिक परिक्षा सकेको विद्यालयका प्रधानाध्यापक कमल प्रसाद अर्यालले बताए । उनले भने “म यस विद्यालयमा आएको धेरै भएको छैन अंग्रेजी माध्यमलाई ट्रान्सलेट पुस्तक दिनुपर्नेमा हालसम्म विद्यार्थीले पाएका छैनन । विद्यालयमा आएको रकम पुस्तक पसलका नाममा निकासा भैसकेको छ तर पुस्तक पसलबाट पुस्तक आएका छैनन।”
निकासा भएको रकम विद्यालयका तत्कालिन प्रधानाध्यापक अर्जुन पौडेलले आफ्नै पुस्तक पसल पौडेल पुस्तक पसलका नाममा निकासी गराए । समयमा नै निकासी लिएका पौडेलले किताब भने हालसम्म पनि उपलब्ध गराउनु भएको छैन । अंग्रेजी माध्यमलाई ट्रान्सलेट पुस्तक उपलब्ध गराउनुपर्ने भएपनि हालसम्म उपलब्ध गराईएको छैन । कक्षा १ देखी ३ सम्मको गणित, कक्षा ४ र ५ को गणित, विज्ञान र स्वास्थ्यको ट्रान्सलेट पुस्तक विद्यार्थीले अहिले सम्म पाउन सकेका छैनन । गत साउनसम्म आफै प्रअ रहेका पौडेलले केही विद्यार्थीहरुलाई किताब दिन बाँकी रहेको स्वीकार्दै “केहि कक्षाका केही किताबहरु आउन बाँकी थिए अहिले पसल मैले हेर्दिन मेडम (श्रीमती) वा बाबु (छोरा) लाई थाहा होला ।”
किताब नपाएको स्विकारेका पौडेलले सोमबार मात्रै कक्षा ६ र ७ का किताबहरु विद्यालयमा पठाउनु भएको छ । पौडेल हाल नवजीवनबाट सरुवा भै वडा नम्बर १३ मा रहेको दुर्गा आधारभुत विद्यालयमा प्रधानाध्यापक कै रुपमा कार्यरत छन । झण्डै आधा शैक्षिक शत्र हुनलाग्दा समेत विद्यार्थीले पुस्तक नपाउनु गम्भिर विषय भएको सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङ बताए । उनले भने “केही दिन भित्रनै प्रअको बैठक डाक्छु र यस विषयमा गम्भिरताका साथ छलफल गराईनेछ ।”
पाठ्यपुस्तक नपाएको गुनासो नगरमा आएपछि नगर प्रमुख सम्भुलाल श्रेष्ठले विद्यालय प्रशासन संग सोधपुछ गरेको बताए । उनले भने “ अहिलेसम्म पाठ्यपुस्तक नपाएको गुनासो आएपछि मैले तत्काल प्रअलाई फोन गरी जानकारी लिँए । केही दिन भित्रमा दुवै प्रअलाइ बोलाइ छलफल गरी विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने र दोषिलाई कारवाही गर्छौ ।”