ट्रेन्डीङ्ग

सेनेटरी प्याडमा सगुन ब्राण्ड रुपन्देहीको गुणस्तर चिन्हमा खेलबाड

बर्दघाट । बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयका छात्राहरुलाई निशुल्क उपलब्ध गराउन खरिद गरेको सगुन ब्राण्डको प्याडमा गुणस्तर चिन्हको चरम दुरुपयोग भएको छ । विद्युतिय बोलपत्र मार्फत खरिद गरिएको एजी हेल्थ इन्ड्रष्ट्रिज प्रा.लि रुपन्देहीले नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नु पुर्व उत्पादन भएका प्याडका प्याकेटमा एनएसको छाप हानेर पठाएको पाईएको हो ।


सामुदायिक विद्यालयमा पढ्ने छात्राहरुका लागि यस अघि विद्यालय आफैले खरिद गरी उपलब्ध गराउँदै आएको प्याड यसपटक भने नगरपालिकाले सेनेटरी प्याड वितरण तथा ब्यबस्थापन समिति बनाएको थियो।


समितिको २०७९ फागुन १५ गते बसेको बैठकले सेनेटरी प्याड खरिद प्रकृयाको सम्बन्धमा छलफल गरी नेपाल सरकारले तोकेका मापदण्डमा नेपाल गुणस्तर चिन्ह प्राप्त सेनेटरी प्याड खरिद गर्नका लागि प्रकृया अगाडि बढाएको समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताए ।


नगरपालिकाले २०७९ फागुन २२ गते १ महिनाको म्याद राखी सुचना प्रकाशन गरी भ्याट बाहेकको रकम ३० लाख ९१ हजार ४ सयमा नबढने गरी विद्युतिय बोलपत्र आव्हान गरेको थियो ।

नगरपालिकाले तोकेको मापदण्डमा रहेर प्याड उपलब्ध गराउनका लागि ५ वटा फर्मले विद्युतिय बोलपत्र पेश गरेको सबैभन्दा कम भ्याट बाहेक २२ लाख ६७ हजार ५ सय ६५ रुपैया दररेट पेश गर्ने एजी हेल्थ इन्ड्रष्ट्रिज प्रा.लि रुपन्देहीले बोलपत्र हात पारेको हो । बोल पत्र हात पारेको एजीले प्याड उपलब्ध गराउँदा भने गम्भिर खेलबाड गरेको छ । कम्पनीले उपलब्ध गराएको प्याडमा समस्या भएको छात्राहरुले गुनासो गरिरहेका छन भने अकोतर्फ एजीले सगुन ब्राण्डको प्याडमा एनएस चिन्ह प्राप्त गरेको मिति भन्दा छ महिना पहिले नै उत्पादन भएका प्याडहरुमा एनएस छाप हानेर पठाएको छ ।

एजी हेल्थको सगुन ब्राण्डको सेनेटरी प्याडले २०७९ चैत्रमा एन एस चिन्ह प्राप्त गरे पनि भदौ/असोजमा उत्पादन गरेको प्याडमा समेत एन एस चिन्हको छाप हानेको छ । त्यतिमात्रै होईन उपभोक्ताहरुलाई छल्नका लागिनै एन एस चिन्ह २०७७ को छाप सेनेटरी प्याडहरुमा हानेको छ ।


नेपाल गुणस्तर तथा नापतौल विभागको पत्र संख्या १०४७ अनुसार मिति २०७९ चैत्र ८ गते देखी १५ दिन भित्रमा गुणस्तर चिनह (एन एस) नम्बर ५८७ मार्किङ गरेको उल्लेख छ । तर कम्पनीले भने एन एस नम्बर उहि कायम गरी २०७७ थपेर छाप हानेको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक संजिव कुमार ठाकुरले एन एस चिन्ह पाएको भन्दा पहिले उत्पादन गरेको सामाग्रीमा एनएसको छाप लगाउन नपाईने बताए ।

एजी हेल्थका निर्देशक डोलप्रसाद अधिकारीले सगुन ब्राण्डको प्याडले कुन मितिमा एनएस चिन्ह प्राप्त गरेको हो भन्ने आफुलाई थाहा नभएको बताए । उनले भने “चैत्र अन्तिम तिर एनएस प्राप्त गरेको हो मिति थाहा छैन । छोरा छोरी जन्ममिति त याद हुँदैन अब यस्तो मिति कसरी याद हुनु ।”


एजीले सगुन ब्राण्डको प्याडमा एन एस २०७७ को लोगो हानेको विषयमा जिज्ञासा राख्दा उहाँ भन्नुहुन्छ “गलत भए सम्बन्धीत निकायले हेर्छ तपाईहरुले टाउको दुखाउनु पर्दैन ।”अधिकारीले झर्केर जवाफ दिईरहँदा नेपाल गुणस्तर तथा नापतौल विभागका उप-महानिर्देशक ज्योती जोशी भट्टले प्याडमा हानेको छाप गलत भएको बताए । उनले एन एस चिन्ह र नम्बर प्रष्ट बुझ्ने गरेर कभरमा प्रिन्ट गर्नुपर्छ पछि छाप हान्ने होईन ।”

बोलपत्रको विद्युतिय फारम भर्ने समय सम्म नेपाल गुणस्तर चिन्ह प्राप्त गरिनसकेको एजी हेल्थले चिन्ह पाउने आसय पत्र पेश गरेको थियो । नगरपालिकाले सम्झौता गर्ने समय अबधी सम्म एन एस प्राप्त गरेको प्रमाण पेश नगरे सम्झौता रद्ध हुने भनी निर्णय गरेपनि सम्झौता भएर रकम भुक्तानी गरिसक्दा पनि एन एस प्रमाण पत्र उपलब्ध नगराएको योजना शाखा प्रमुख एवं सुचना अधिकारी पुस्कर काफ्ले बताए ।

प्याडको गुणस्तरको विषयमा प्रश्न उठेपछि नगरपालिकाले यसको गुणस्तर परिक्षणका लागि नमुना संकलन गरी विभागमा पठाएको छ ।


नगरपालिकामा एन एस प्राप्त गर्नु पुर्व उत्पादन भएका प्याडको बारेमा जिज्ञासा राख्दा सेनेटरी प्याड वितरण तथा ब्यबस्थापन समिति संयोजक नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले विद्युतिय बोलपत्र पछि कमसल भएको केही गुनासा आएको बताए । उनले भने “कानुनी जटिलताका कारणले खरिद प्रकृयामा गैसकेपछि ब्याक हुन सकिएन र एन एस चिन्ह को छाप हानेको प्याड खरिद गर्ने निर्णय गरियो ।

गुणस्तर हिन भएको गुनासो आएपछि नगरले परिक्षणका लागि विभाग पठाएको छ रिपार्टमा गुणस्तरहिन सावित भए कम्पनी कारबाहीको भागिदार हुन्छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?