बर्दघाट । बर्दघाट प्रेस क्लबले बर्दघाट क्षेत्रको पत्रकारीता र पत्रकारहरु असुरक्षित भएको भन्दै बर्दघाट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
आज बुधबार बर्दघाट प्रेस क्लब पदाधिकारीहरु, बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ, उप-प्रमुख रुद्रप्रकाश उपाध्याय, नगर प्रवक्ता सन्त बहादुर गाहा, सामाजिक विकास समितिका संयोजक तथा बर्दघाट १६ का वडाध्यक्ष भिमकाजी गुरुङको उपस्थितिमा क्लबका अध्यक्ष कुशमाकर ढकालले नगर प्रमुख श्रेष्ठलाइ ज्ञापनपत्र बुझाएका हुन ।
बर्दघाट नगरभित्रका विभिन्न विषयबस्तुहरुलाई सञ्चार माध्यममा प्रकाशन/प्रशारण गरेकोमा विभिन्न पक्षहरुले समाचार तथा रिपोटसँग सम्बन्धित रहेर संचारकर्मीहरुलाई चेतावनी पुर्ण भाषा तथा अभिव्यक्ति आएको भन्दै क्लबले नगरलाई ध्यानाकर्षण गराएको हो ।
समाचार लेखनकै विषयलाई लिएर सरकारी वेतनधारीहरुले आफ्नो पदिय मर्यादा समेत ख्याल नगरी पत्रकारहरुलाई धम्क्याउने तथा संचार समाग्रीहरु तोडफोड गर्ने प्रयास गर्ने गरीएको ज्ञापन पत्रमा उल्लेख छ ।
क्लबद्धारा जारी ज्ञापन पत्रमा भनिएको छ ‘समाचार लेखनको विषयमा चित्त नबुझे समाचारको खण्डन गर्ने, प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने कानुनी प्रावधान रहेको स्मरण गराउन चाहन्छौँ ।’नेपालको संविधान २०७२ को धारा १७ को २ (क) मा विचार तथा अभिव्यक्ति स्वतन्त्रता, धारा १९ मा संचारको हक, धारा १९ मा सूचनाको हक अन्तरगत रहेर आफूहरुको ध्यानाकर्षण भएको क्लबको ज्ञापन पत्रमा उल्लेख रहेको छ ।