ट्रेन्डीङ्ग

दाङको जनता मावी अभिभावक सेवा शुल्कको नाममा मनोमानी ढंगले शुल्क असुल गर्दै

भालुवाङ १५ कार्तिक । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा रहेको जनता माध्यमिक बिद्यालयले अभिभावक सेवा शुल्कको नाममा विद्यार्थीहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको छ ।

सरकारको नियम बिपरित बिद्यालय प्रशासनले अभिभावक सहयोगका नाममा शुल्क उठाएको पाइएको हो ।

संविधानले कक्षा १ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाकाहरुका लागि निशुल्क शिक्षा भनेको छ।

यता बिद्यालयले निशुल्क भर्ना गरेपनि पछिल्लो समयमा आएर विद्यार्थीहरुबाट अभिभावक सेवा शुल्क भनेर रकम उठाउने गरेको अभिभावकहरूले गुनासो गरेका छन।

 

अभिभावकहरुलाई थाहा नै नदिई शुल्क उठाउन थालेपछि अभिभावकहरु मात्र होइन विद्यालयका सल्लाहकारहरुले पनि विरोध जनाएका छन।

सरकारले हालै मात्र नयाँ शैक्षिक ऐन लागु गरेको छ र जसमा कुनैपनि प्रकारको शुल्क विद्यार्थीबाट उठाउन नपाउने गरि व्यवस्था गरेको छ।

सोही व्यवस्थालाई टेकेर गढवा गाउँपालिका गाउँ शिक्षा समितिको मिति २०७८ असार ५ गते र गाउँ कार्यपालिकाको मिति २०७८ असार ६ गतेको निर्णयले सामुदायिक विद्यालयलाई माध्यमिक तह सम्म निशुल्क शिक्षा प्रदान गर्ने र विद्यालयले विद्यार्थी भर्ना गर्दा अभिभावकहरुबाट कुनै पनि वाहानामा शुल्क नलिई भर्ना गर्ने र शुल्क लिएको पाइएमा शिक्षा ऐन, नियमावली अनुसार कारवाही हुने बताएको छ।

तर यस व्यवस्था विपरीत विद्यालय प्रशासनले अभिभावकहरूबाट मनोमानी ढंगले शुल्क उठाईरहेको पाइएको हो । विद्यालयले कक्षा १ बाट १ सय, २ बाट २ सय,३ बाट ३ सय, ४ बाट ४ सय, ५ बाट ५ सय, ६ बाट ६ सय, ७ बाट ७ सय, ८ बाट ८ सय, ९ बाट ९ सय र कक्षा १० बाट १ हजार रूपैयाँको दरले शुल्क उठाईरहेको छ ।

 

यस विषयमा विद्यालयका प्रधानाध्यापक बासुदेव बेल्वासे सँग बुझ्दा गढवा गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले निकालेको सुचनामा विद्यालयले कुनै पनि वाहानामा शुल्क उठाउन नपाइने पत्र प्राप्त भएपनि विद्यालयले निजी स्रोतबाट राखिएका शिक्षकलाई तलव खवाउन गाह्रो भएपछि अभिभावक र व्यवस्थापन समितिको सहमतिमा अभिभावक सहयोग शुल्क मात्र लिएको बताए।

त्यसैगरी गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्यामबहादुर विकले कुनै पनि विद्यालयले कुनै पनि बहानामा कुनैपनि प्रकारको शुल्क लिन नपाइने यदि शुल्क लिएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने बताए ।

यस विषयमा आइतवार विद्यालयमा अभिभावक भेला समेत सम्पन्न भएको छ । भेलामा आउनु पर्ने अभिभावक समेत सिमित मात्रमा आएका थिए । भने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी समेत समिति मात्रमा रहेका बेला विद्यालयले अभिभावक सेवा शुल्क लिने सहमती गराएको छ । तर यसको अधिकांश अभिभावकले विरोध नै गरेका छन् ।

शिक्षक अभिभावक संघका अध्यक्ष भरत अधिकारीको अध्यक्षता एवम् गढवा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख श्यामबहादुर विकको प्रमुख आतिथ्यतामा भएको भेलामा गढवा गाउँपालिका १ नम्बर वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बाबुराम अधिकारी, विद्यालयका सल्लाहकार तथा अभिभावकहरु सन्तोषकुमार योगी, कृष्ण गिरी, ढकबहादुर एमसी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहरा र शिक्षक अभिभावक संघका सदस्य राजन पोख्रेल लगायतका वक्ताहरुले आ आफ्नो भनाई राखेका थिए।

भेलामा विद्यालयका प्रधानाध्यापक बासुदेव बेल्वासेले विद्यालयले गरेको पछिल्लो गतिविधि बारे जानकारी गराएका थिए । विद्यालय व्यवस्थापन समितिकी सदस्य रिमा पुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक भानु जिएमले गरेका थिए । देशका अधिकांश विद्यालयले विभिन्न वाहानामा शुल्क असुल्न भनेका छाडेका छैनन।

यसको नियमन र अनुगमन गर्ने निकायको लापरवाहीले गर्दा अभिभावक मारमा परेका छन् । त्यस कारण विद्यालयमा भएका यस प्रकारका गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिन जरूरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?