ट्रेन्डीङ्ग

दलाल पुँजीवादले महिलालाई शरीर बेच्न बाध्य बनाएको छःभृकुटी

तानसेन।नेकपाकि केन्द्रीय सदस्य एवम् पाल्पा-गुल्मी जिल्ला इन्चार्ज धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’ ले दलाल पुँजीवादले महिलालाई जीवन निर्वाहका लागि शरीर बेच्न बाध्य बनाएकाले जनपत्रकारहरूले यो व्यवस्थाको घृणित चरित्रको भण्डाफोर गरी वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार गर्नुपर्ने बताएकी छिन् ।

जनपत्रकार सङ्गठन पाल्पाले जिल्ला सदरमुकाम तानसेनमा आयोजना गरेको तीनदिने आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई शुभकामना दिँदै नेकपा नेत्री भृकुटीले भनिन्, ‘दलाल पुँजीवादी शासकहरूले सञ्चारलाई सत्ता संरक्षणको साधन बनाएका छन् । हामीले उनीहरूको शोषण र दलालम्खी संरचना भत्काएर नयाँ निर्माण गर्ने हो । पुरानालाई भत्काएर नयाँ निर्माणका लागि युवा जनपत्रकारहरूको भूमिका महत्वपूर्ण छ ।’

मुलुकको शिक्षा, स्वास्थ्य, रोजगारी सबैतिर दलाल पुँजीवादको हस्तक्षेप रहेको र दक्ष जनशक्ति पनि निर्माण नभएकाले मुलुक अदक्ष कामदार उत्पादन गर्ने कारखानाका रूपमा परिणत भएको उनले बताइन्।

आफूलाई काठमाडौँ दरमार्ग प्रहरी खोरमा आस्थाको बन्दी बनाइएको समयमा उक्त चौकीमा पक्राउ गरेर ल्याइएका शरीर बेच्न बाध्य महिलाहरूलाई देखाउँदै प्रहरी अधिकृतले ‘तपाईंहरूको क्रान्तिले यी महिलाको जीवन बदल्न सक्नुपर्छ’ भनेको सन्दर्भ उठाउँदै नेत्री भृकुटीले श्रमिक नागरिकलाई आत्मसम्मान साथ जीवन निर्वाह गर्न सक्षम बनाउने क्षमता निर्माण गर्ने पत्रकारिता आजको आवश्यकता रहेको धारणा राखिन्।

पद र पैसा नभएको व्यक्तिका लागि राज्य र सरकार दुवै आफ्ना नभएको भन्दै नेत्री भृकुटीले सर्वहारा वर्गीय पत्रकारिताले देश र जनताको यथार्थ अवस्था सार्वजनिक गर्नुपर्ने खाँचो औँल्याइन् ।

तालिम सफलताको शुभकामना प्रदान गर्दै प्रमुख प्रशिक्षक रातो खबर प्रकाशन गृहका सम्पादक तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सचिव अशोक सुवेदीले वर्गीय समाजमा राजनीति, अर्थ र संस्कृतिजस्तै पत्रकारिता पनि वर्गीय हुने भएकाले जनपत्रकारहरूले श्रमिक जनताका पक्षमा र दलाल पुँजीवादी सत्ताका विरुद्ध सञ्चारकर्मलाई केन्द्रित गर्नुपर्ने बताए ।

असल पत्रकार बन्नका लागि सञ्चारकर्ममा आफ्नो भविष्य देख्न र त्यसप्रकारको चरित्र निर्माण गर्न सक्नुपर्ने धारणा राख्दै उनले लेनिनले सञ्चारलाई सङ्गठक, प्रचारक र आन्दोलनकर्ता भन्नुको आशय यसको बहुआयामिकता रहेको प्रस्ट पारे ।

पाल्पा जिल्लामै जनपक्षीय पत्रकारिताका लागि चार दर्जन युवा तयार हुनु र त्यसमा पनि सत्तरी प्रतिशतको हाराहारीमा महिला तयार हुनु लोभलाग्दो र उदाहरणीय रहेको भन्दै सुवेदीले श्रमजीवी जनतालाई आमूल परिवर्तनका पक्षमा लामबद्ध गराउने र वैज्ञानिक समाजवादका निर्माता बनाउने काममा जनपक्षीय सञ्चारको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।

 

नेकपा पाल्पाका सेक्रेटरी भुवन जीसीले अबको युग सञ्चारको युग रहेको बताए । सूचना हुने मानिस सम्पन्न हुने धारणा राख्दै जीसीले जनपक्षीय पत्रकारिताले भोको पेटमा स्वतन्त्रताको फोस्रो नारा लगाउनेको नभएर पहिला खाना, त्यसपछि स्वतन्त्रताका पक्षमा कलम चलाउनुपर्ने प्रस्ट पारे।

जनपत्रकार सङ्गठन लुम्बिनीका कोषाध्यक्षसमेत रहेका जनपत्रकार सङ्गठन पाल्पाका इन्चार्ज मुक्ति गैरेको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रमको सञ्चालन मोहन निवाङले गरेका थिए ।
प्रमुख अतिथि भृकुटी र विशेष अतिथि सुवेदीले मैनबत्ती बालेर तालिम उद्घाटन गरेका थिए ।

जिल्लाका विभिन्न भागबाट भेला भएका तीसभन्दा बढी युवा सहभागी पत्रकारिता तालिम तीन दिन सञ्चालन हुने बताइएको छ ।

तालिममा प्रमुख प्रशिक्षक अशोक सुवेदीले छापा सञ्चार र जनपक्षीय पत्रकारिता,जनपत्रकार सङ्गठनका केन्द्रीय सदस्य आलोक लिम्बुले रेडियो पत्रकारिता तथा उद्घोषण र जनपत्रकार सङ्गठन लुम्बिनीका सचिव अनिल नेपालीले अनलाइन पत्रकारिता र यसका आयामका विषयमा तीन दिनसम्म तालिम दिने कार्यक्रम छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?