गणेश एसके,मंसिर २३ ,कञ्चनपुर।पत्रकारिता क्षेत्रलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउनमा प्रेस काउन्सिलले जोड दिएको छ ।
प्रेस काउन्सिल नेपाल र पत्रकार महासंघ शाखा कञ्चनपुरको समन्वयमा बिहीबार महेन्द्रनगरमा भएको पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रम मा उपस्थित भएका सम्बन्धित नियमनकारी निकायहरुले पत्रकारिता क्षेत्र र पेसालाई स्वच्छ निष्पक्ष र मर्यादित बनाउन जोडदिएका हुन ।

कार्यक्रममा प्रमुख अतिथि रहेका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मीडिया र पत्रकारिता क्षेत्रमा बढेको विकृति ,विसंगती , अनुत्तरदायी भूमिका र अराजकताका कारण आम जनसमुदायको पत्रकारिता पेसालाई हेर्ने दृष्टिकोण नराम्रो रहेको, गुनासा बढेको बताउँदै यी समस्या र जटिलताको न्यूनीकरण गर्न आचार संहिता जागरण अभियान गरिरहेको बताएका छन । आगामी दिनहरुमा विगतमा भएका कमी कमजोरीलाई सच्चाएर देखिएका समस्या समाधानका लागि काउन्सिलले रचनात्मक पहलीकदम लिने उनले बताए ।

सहभागी स्थानीय पत्रकारहरुले प्रेस काउन्सिलले विगतदेखि नै मीडिया वर्गीकरण देखि अन्य राहत छनोट प्रक्रियामा विभेदकारी व्यवहार गर्दै आएको आरोप लगाएका छन। काउन्सिलबाट उपलब्ध हुने सेवा सुविधा पहुंच पावरका आधारमा नभई वास्तविक पीडितलाई दिइनु पर्नेमा उनीहरूले आग्रह गरे ।

पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधाव सिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका पदाधिकारी,सरकारी निकायका अधिकारी,जनप्रतिनिधी लगायतका जिल्लाका पत्रकारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार